सुदूरपश्चिम नाकामा भारत फर्कनेको लर्को, घर फर्किने ११ जनालाई सङ्क्रमण

 चैत १३, २०७७ शुक्रबार ११:२१:३२ | विमल बिष्ट
unn.prixa.net

फाइल तस्बिर

डाेटी - पछिल्लो समय कामका लागि भारत गएकाहरु धमाधम फर्किन थालेका छन् ।

सुदूरपश्चिममा विशुपर्व नजिकिएसँगै रोजगारीका लागि भारत पसेका घर फर्किन थालेका हुन् । यस्तै, भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि पनि त्रासले केही घर फर्किन थालेका छन् । 

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका अनुसार पाँच दिनको अवधिमा भारतबाट आएकामध्ये ११ जनालाई कोरोना सङ्क्रमण देखिएको छ । कोरोनाका कारण रोजगारी छोडेर आउनेहरु सिधै गाउँ पस्न थालेका कारण फेरि कोरोनाको जोखिम बढेको छ ।  

सुदूरपश्चिम प्रदेशका सीमानाकाहरु कञ्चनपुरको गड्डाचौँकी, त्रिनगर, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । भारतबाट फर्किनेलाई अनिवार्य क्वरेण्टीनमा बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ । 

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै पालिकामा क्वरेण्टीन बनाउन तयारी थालेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो । सिमानाकामा घर फर्किनेको लर्को लागेकाले सावधानी अपाउनुका साथै, स्वास्थ्य जाँचमा पनि ध्यान दिएको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कञ्चनपुरको त्रिनगर र गड्डाचौकी नाकाबाट मात्रै दैनिक एक हजारभन्दा धेरै नेपाली फर्किने गरेका छन्। 

प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यी दुई नाकाबाट पछिल्लो दश दिनमा आठ हजारभन्दा धेरै नेपाली भित्रिएका छन् । भारतबाट फर्किका शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले भारतसँग सिमा जोडिएका चार जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरेको जनाएको छ । तर,भारतबाट स्वदेश फर्किने धेरैको सीमानाकामा स्वास्थ्य परीक्षण हुन नसकेको भारतबाट घर फर्किएका डोटीका दीर्घबहादुर कामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिमानाकामा हेल्थ डेस्क स्थापना भएको छ तर खासै त्यहाँ स्वास्थ्य जाँच गरिदैन सामान्य ज्वरो मापन गरेर घर पठाउन थालेका छन्, कोरोना जाँच सम्बन्धी कुनै परिक्षण नहुँदा समस्या भएको छ ।” 

भारतबाट फर्किनेहरूको परीक्षण गर्न सम्बन्धित पालिकालार्ई एन्टिजेन पठाइएको प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया