भारत : छत्तीसगढमा माओवादीसँगको भिडन्तमा ज्यान गुमाउने सुरक्षाकर्मीको सङ्ख्या २२ पुग्यो

 चैत २२, २०७७ आइतबार १५:५:४२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको छत्तीसगढमा माओवादीसँगको भिडन्तमा ज्यान गुमाउने सुरक्षाकर्मीको सङ्ख्या २२ पुगेको छ । शनिवार बिहान भएको भिडन्तमा ज्यान गुमाउनेमध्ये २० जना सुरक्षाकर्मीको शव भेटिएको बीबीसी हिन्दीले जनाएको छ ।

चार घण्टासम्म चलेको भिडन्तमा ३७ जना सुरक्षाकर्मी घाइते भएका र अझै एक जना हराइरहेका खबरमा उल्लेख छ । शुक्रवार रातिदेखि दुई हजार ५९ जनाको संयुक्त सुरक्षा बलले बीजापुर र सुकमा जिल्लामा रहेको जङ्गलमा माओवादीविरुद्ध अपरेशन चलाएका थिए । अपरेशनका क्रममा माओवादीले थापेको धरापमा सुरक्षाकर्मी परेका थिए । धरापमा भएको बम विस्फोटपछि दुई पक्षबीच गोली हानाहान भएको खबरमा उल्लेख छ ।

माओवादीतर्फ पनि ठूलो क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म एक जना महिलाको मात्रै शव भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लाे केही वर्षयता छत्तीसगढमा यसलाई माओवादीकाे सबैभन्दा ठूलाे आक्रमण मानिएकाे छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको निन्दा गर्नुभएको छ । प्रधानमन्त्रीले एक ट्वीटमा लेख्नुभएकाे छ, छत्तीसगढमा माओवादीसँग लड्ने क्रममा सहिद भएका जवानका परिवारलाई मेराे समवेदना छ । वीर सहिदहरूकाे बलिदानीलाई कहिल्यै भुल्न सकिँदैन । घाइतेहरूकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु ।

भारतका गृह मन्त्री अमित शाह र छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले माओवादीसँगकाे मुठभेडमा सुरक्षाकर्मीकाे निधनलाई लिएर दुःख व्यक्त गरेका छन् ।  

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया