संसदमा सरकारको आलोचना : ‘रातो किताबका सबै योजना बालुवाटारबाटै शिलान्यास गरे हुन्छ’

 चैत २३, २०७७ सोमबार १४:११:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको साेमवारकाे बैठकमा सांसदहरूले देशका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसदहरूले आफ्नो क्षेत्रका तथा राष्ट्रिय महत्त्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद भरतकुमार साहले प्रधानमन्त्रीले बालुवाटारमा बसेर कुनै तयारी र डिजाइन नै नभएका एक सय ६५ वटा सडकको शुभारम्भ गरेको भन्दै आपत्ति जनाउनुभयो । प्रधानमन्त्रीलाई शिलान्यासकै रहर  हो भने रातो किताबमा रहेका सबै आयोजना बालुवाटारमै बसेर शिलान्यास गर्न उहाँले व्यङ्ग्यात्मक सुझाव दिनुभयो ।

यस्तै सांसद रङ्गमती शाहीले देश रेलमार्ग, जलमार्ग र सुरुङमार्गमा प्रवेश गरेको भन्ने भाषण सुनेको तर आफ्नो क्षेत्रमा एउटा एम्बुलेन्ससमेत नहुँदा बिरामीको अकालमै ज्यान गुमाएको गुनासो गर्नुभयो । राष्ट्रपतिले अपराधीको कैद मिनाहा गरिदिएको तथा म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचारीलाई देखी सहन्नँ भन्ने प्रधानमन्त्रीले कर छल्नेहरूकै घरमा दलको कार्यालय राखेको भन्दै शाहीले आक्रोश पोख्नुभयो ।

यस्तै सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्रीले संसद् असफल बनाउन बिजनेस नदिएको भन्दै उहाँले संसदमा आएर आफूलाई लागेका कुरा राख्न र संसद्को सम्मान गर्न आग्रह गर्नुभयो । सांसद् राजबहादुर बुढाले संसद्लाई काम नदिएको भन्दै विरोध जनाउनुभयो ।

यस्तै सांसद भैरवबहादुर सिंहले बझाङका १२ वटै पालिकामा भोकमरी परेको भन्दै छिटो भन्दा छिटो खाद्यान्न पुर्‍याउन सरकारकाे ध्यानाकर्षण गराउनुभयो ।

सांसद मेटमणि चौधरीले दाङमा मापदण्ड विपरीत जमिन तथा नदी, खोला उत्खनन गरेर चुरे क्षेत्र ध्वस्त बनाउने काम भइरहेको भन्दै तत्कालै रोक्न माग गर्नुभयो ।

सांसद मोहन बानियाँले कर्णाली राजमार्गको सुर्खेत–नाग्मा सडक खण्ड अत्यन्तै जीर्ण भएको र आउँदो बर्खामा ठूलो समस्या आउन सक्ने भन्दै मर्मतका लागि सरकारकाे ध्यानाकर्षण गराउनुभएको छ ।

यस्तै सांसद मोहनप्रसाद पाण्डेले सिद्धार्थ राजमार्गको बुटवल–दोभान सडक खण्ड बिजोग अवस्थामा रहेको तर सरकारले ध्यान नदिएकाे भन्दै आपत्ति जनाउनुभयाे । 

सांसद योगेश भट्टराईले ताप्लेजुङको सिरान गाउँ र दोभानमा भएको आगलागीका पीडितलाई राहत, आवासको व्यवस्था गर्न र दमकललगायतका साधनको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

यस्तै सांसद रामबहादुर विष्टले तीन महिनाभित्र सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउँछन् भन्ने प्रधानमन्त्रीको गफ कता हरायो भन्दै प्रश्न गर्नुभएको छ ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया