माओवादी केन्द्रले चार जना मन्त्रीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्‍याे

 चैत २४, २०७७ मंगलबार १८:११:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले चार जना मन्त्रीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष प्रचण्डले उद्योग मन्त्री लेखराज भट्ट, उर्जा मन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरीलाई पार्टी र सांसदबाट हटाएको पत्र माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले सङ्घीय संसद् सचिवालयमा दर्ता गराउनुभएको हो ।

पार्टीको निर्देशन नमानेको, नेतृत्वविरुद्ध लागेको, एमालेमा प्रवेश गरेको लगायतका विषयमा सोधिएको स्पष्टीकरणको जवाफ नदिएको र पार्टीको सम्पर्कमा नआएको भन्दै चार जनालाई हटाइएको माओवादी केन्द्रले जनाएको छ । चारै जनालाई पार्टीले सांसदबाट हटाइसकेकाले उनीहरूकाे पद निलम्बन गर्न पनि माओवादी केन्द्रले संसद् सचिवालयलाई आग्रह गरेको छ ।

राजनीतिक दल त्यागसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ बमोजिम स्पष्टीकरण माग गरी मन्त्रिपरिषदबाट फिर्ता आउन गरिएको निर्देशन अस्वीकार गरेकाले कारबाही गरिएको सङ्घीय संसद् सचिवालयलाई बुझाइएकाे पत्रमा भनिएकाे छ ।

अब कानुनअनुसार लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीलाई सांसदबाट हटाइएको सूचना सभामुख अग्निप्रसाद सापकोटाले संसद्को चालु अधिवेशनबाटै जानकारी दिनुपर्नेछ ।

माओवादी केन्द्रले गृह मन्त्री रामबहादुर थापालाई पनि राष्ट्रिय सभा सदस्यबाट हटाउने निर्णय गरेको छ । केही दिनपछि यसको जानकारी संसद् सचिवालयमा पुग्ने केन्द्रले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया