नेपालमा वायु प्रदूषण फेरि बढ्न थाल्यो, काठमाण्डौ विश्वकै प्रदूषित सूचीको एक नम्बरमा कायमै

 चैत २४, २०७७ मंगलबार १८:५७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा वायु प्रदूषण फेरि बढ्न थालेको छ । केही दिनअघि केही सुधार भए पनि काठमाण्डौसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको वातावरण विभागले जनाएको छ ।

काठमाण्डाै अहिले पनि विश्वकै प्रदूषित सूचीको एक नम्बरमा रहेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको छ । ३ सयभन्दा माथि एक्यूआई हुनुलाई अति हानिकारक मानिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लुएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने जनाएको छ ।

काठमाण्डाैकाे सिंहदरबार क्षेत्र अहिले सबैभन्दा धेरै प्रदूषित देखिएको छ । त्यस्तै नेपालगञ्ज, पोखरालगायत सहरहरूको एक्यूआई पनि हानिकारक अवस्थामा रहेको छ । 

यसैबीच वायु प्रदूषण फेरि बढेसँगै यसले श्वासप्रश्वासमा समस्या हुने लगायत स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्ले आग्रह गरेका छन् । काठमाण्डौसहित देशका विभिन्न ठाउँमा तुवाँलो लागेजस्तो भएर वातावरण धुमल्लिएकाे र प्रदूषित भएकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन जनस्वास्थ्यविद्हरुको आग्रह छ ।

यसअघि देशभरको वायु प्रदूषण उच्च विन्दुमा पुगेसँगै सरकारले चैत १३ गतेदेखि ४ दिन विद्यालय बन्द गराएको थियो । गर्मी बढेको तर पानी नपरेकोले सुक्खापन धेरै हुँदा देशका विभिन्न जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएको विज्ञहरूले बताएका छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया