नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच फोन वार्ता : खाेप आपूर्तिका लागि सहजीकरण गर्न भारतलाई आग्रह

 चैत २७, २०७७ शुक्रबार १९:२३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल र भारतका परराष्ट्रमन्त्री बीच शुक्रवार टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिला मन्त्री एस. जयशङ्करबीच भएको वार्तामा कोभिड–१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने कार्यमा निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको छ ।

दुवै देशका परराष्ट्र मन्त्रीले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा थप सहयोगको अभिवृद्धि गर्नेसहित खोपको आपूर्तिबारे विचार–विमर्श गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा १० लाख मात्रा कोभिशिल्ड खोप उपलब्ध गराएकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । साथै उहाँले कोभिडको उच्च जोखिममा परेका नेपालीलाई दोस्रो मात्रा खोप लगाउन आवश्यक पर्ने थप खोपको आपूर्तिका लागि सहजीकरण गर्न भारतका बाह्य मामिला मन्त्रीसँग अनुरोध गर्नुभएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रत्युत्तरमा बाह्य मामिला मन्त्रीले खोप आपूर्तिसहित महामारीबाट पार पाउन नेपालको प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने आश्वासन दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया