शिक्षकलाई दुर्व्यवहार गरेको विरोधमा सामुदायिक विद्यालय बन्द

 चैत २९, २०७७ आइतबार ९:३९:३७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – विद्यालयमा शिक्षकमाथि भएको दुर्व्यवहारको विरोधमा नेपाल शिक्षक महासंघ गौशाला नगर समितिले आज नगरका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गराएका छन् । पीडित शिक्षकलाई न्याय दिलाउन तथा दोषीलाई कारबाहीको माग गर्दै आज बिहान हुन लागेको विरोध प्रदर्शनमा सहभागी हुनका लागि यहाँका सामुदायिक विद्यालय बन्द गराएको हो  ।

गएकाे चैत २६ गतेका दिन गौशाला नगरपालिका वडा नंं ९ का वडा सचिव उमाकान्त महतो र उनका भाइ राजेश महताेले त्रिभुवन माध्यामिक विद्यालयमा गइ शिक्षकहरुलाई दुर्व्यवहार गर्नुको साथै हातपातको समेत प्रयास गरेका थिए । त्यसैको विराेधमा नगरका सामुदायिक विद्यालयहरु एक दिनको लागि बन्दको घोषणा गरेकाे नेपाल शिक्षक महासंघ गौशालाका अध्यक्ष नकुल उप्रेतीले बताउनुभयो । न्याय नपाएको खण्डमा चरणवद्ध रुपमा आन्दोलन गर्ने उहाँकाे भनाइ छ ।

त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एक छात्रालाई कक्षामा ढिलाे आउँदा शिक्षकले केही मिनेट कक्षा बाहिर उभ्याएका थिए । त्यसरी कक्षा बाहिर उभ्याइएकी छात्रा राजेश महतोकी श्रीमती हुन् । आफ्नी श्रीमतीलाई कडा अनुशासनमा राखेकाे भन्दै राजेश महताेले आफ्ना दाइलाई साथमा लिइ शिक्षकहरुसँग दुर्व्यवहार गरेका थिए । 

अन्तिम अपडेट: चैत १५, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया