प्रदेश-२ मा माओवादी केन्द्रका चार सांसद बर्खास्त

 चैत ३०, २०७७ सोमबार ११:५९:२७ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी - नेकपा माओवादी केन्द्रले प्रदेश-२ का चार जना प्रदेशसभा सदस्यलाई बर्खास्त गरेको छ ।

पार्टीले सोधिएको २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ नदिएको कारण प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समीर र ज्वाला साहलाई बर्खास्त गरिएको हो ।

प्रदेशसभा सदस्यहरुलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेपछि चार जनाकै सांसद पद समेत गुमेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले बताउनुभयो ।

चारैजना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई समेत बुझाएकाले सम्भवत: आज बस्ने प्रदेशसभा बैठकले यसबारे जानकारी गराउने नेता साहले जानकारी दिनुभयो।

गएको शुक्रवार काठमाण्डौमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले माओवादी छोडेर एमालेमा गएको भन्दै रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग २४ घण्टाभित्र स्पष्टीकरण सोधेको थियो ।

प्रदेश-२ मा नेकपा माओवादी केन्द्रका ११ जना सांसद रहेकामा चार जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् । यसैबीच, ६ महिनापछि आज प्रदेश-२ को प्रदेशसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे पाँचौं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो ।

सत्तारुढ दल र प्रतिपक्षी दलको विवादका कारण लामो समयसम्म बैठक आह्वान हुन सकेको थिएन । ६ महिनाभित्र अधिवेशन बोलाउनै पर्ने कानुनी बाध्यता रहेकाले आजका लागि बैठक बोलाइएको हो ।

आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची छ । यसअघि गएको कात्तिकमा चौथो अधिवेशन सकिएको थियो।

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया