कर्णालीका मुख्यमन्त्री शाहीकाे पद जाेगियाे, एमालेका ४ सांसदले पक्षमा मतदान गरे

 बैशाख ३, २०७८ शुक्रबार १७:३९:१० | मुना हमाल
unn.prixa.net

फाइल फाेटाे

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जाेगिएकाे छ । प्रदेश सभामा विश्वासकाे मत पाएपछि शाहीको पद जोगिएको हो ।

३९ जना सांसद रहेको कर्णाली प्रदेश सभाको विश्वास पाउन मुख्यमन्त्री शाहीलाई २० प्रदेश सभा सदस्यको मत चाहिन्थ्यो । मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गर्नुभएको हो ।

प्रदेश सभामा मुख्यमन्त्री शाहीको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । ६ जना सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको छ । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो । नेकपा एमालेका चार जना सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका हुन् । 

एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले 'फ्लोर क्रस' गरेर माओवादी केन्द्रका मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका हुन् । 

संसदीय दलले सामान्यतया एक टाेलीकाे रूपमा मतदान गर्ने गर्दछ, जसमा पार्टीका सबै सदस्यले एकै प्रकारले मतदान गर्दछन् । तर संसदीय दलकाे सदस्यले पार्टीकाे विरुद्ध मतदान गरेकाे अवस्थामा त्यसलाई 'फ्लाेर क्रस' भनिन्छ ।   

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया