डोटीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

 भदौ ७, २०७५ बिहिबार ७:१४:१० | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटी जिल्लामा वर्षेनि गर्भपतन गराउने महिलाहरुको संख्या बढिरहेको छ ।

सुरक्षित गर्भपतन गराउनेमा अविवाहित किशोरीहरुको संख्या बढी भएको जिल्ला अस्पताल डोटीको तत्थ्यांकमा उल्लेख गरिएको छ । जिल्ला अस्पताल डोटीका मेडिकल सुपरी टेन्डेन्ट डाक्टर भुषण मिश्रले दिनु भएको जानकारी अनुसार आर्थिक वर्ष ०७४÷७५ मा डोटीमा एक हजार ८९ जना महिलाहरुले गर्भपतन गराएका छन् ।

उहाँका अनुसार जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्ला भरिका १८ स्वास्थ्य संस्थामा महिलाहरुले गर्भपतनको सेवा लिएका हुन् । जिल्ला अस्पतालमा मात्रै गएको आर्थिक वर्षमा ३ सय ८३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

नेपाल सरकारले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेपछि गर्भपतन गराउने महिलाहरुको संख्या ह्वातै बढेको हो । नौ हप्तासम्मको गर्भ तालिम प्राप्त स्वास्थ्यकर्मीहरुद्वारा प्रदान गरिने औषधि सेवन गरेर र १२ हप्तासम्मको गर्भ उपकरणहरुको प्रयोग गरी पतन गराउन मिल्ने प्रावधान रहेकोमा डोटी जिल्लामा नौ हप्तासम्मको गर्भपतन गराउने महिलाको संख्या अत्याधिक रहेको छ । 

गाउँ गाउँमा सरकारी स्वास्थ्य संस्थाहरु र स्वास्थ्यकर्मीहरु सूचीकृत रहेका कारण नौ हप्ता सम्मको गर्भपतन गराउने महिलाको संख्या बढी देखिएको हो । एक वर्षको अवधिमा ८ सय ७१ जनाले औषधि सेवन गरी नौ हप्तासम्मको गर्भपतन गराएको जिल्ला अस्पातल डोटीको तत्थ्यांकमा उल्लेख छ ।

त्यस्तै १२ हप्तासम्मको गर्भपतन गराउनेको संख्या एक सय ६६ रहेको छ भने १८ हप्तासम्मको गर्भपतन गराउने महिला तथा किशोरीहरुको संख्या ५२ देखिएको छ । १२ हप्तादेखि १८ हप्तासम्मको गर्भपतन गराउने अधिकार डोटी जिल्ला अस्पतालले मात्रै छ । 

त्यस्तै जिल्ला अस्पतालमा १२ देखि १८ हप्ता सम्मको गर्भपतन गराउने व्यवस्था तथा उपकरण भएका कारण एउटै महिलाले तीन पटकसम्म गर्भपतन गराउन आउने गरेको जिल्ला अस्पतालमा गर्भपतन गराउने अधिकार पाएका चिकित्कस डाक्टर गिरिश अवस्थीले बताउनुभयो ।

‘महिला पुरुषले परिवार नियोजनका साधनहरुको प्रयोग नगर्ने भएकाले यो समस्या बढी देखिएको हो,’ डाक्टर अवस्थीले भन्नुभयो, ‘पटक पटक गर्भपतन गराए ज्यान नै जोखिखमा हुन्छ भन्ने बुझेर पनि गर्भपतन गराउन आउछन्, कसरी सम्झाउने भनेकै मान्दैनन् ।’ 

अन्तिम अपडेट: चैत १२, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया