प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने अंकगणित : खनाल–नेपाल समूहले के गर्लान् ?

 बैशाख २२, २०७८ बुधबार ६:४०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै नेकपा एमालेको खनाल–नेपाल समूह आवश्यक रणनीतिमा जुटेको छ ।

आउँदो २७ गते विश्वासको मत लिने मिति तोकिएसँगै जसरी हुन्छ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई असफल बनाउने रणनीति अनुसार खनाल–नेपाल समूह विभिन्न विकल्पसहित आन्तरिक छलफलमा जुटिरहेको छ । 

पहिला विश्वासको मतको पक्षमा उभिन लगाएर थप कारबाही गर्ने प्रधानमन्त्री ओलीको रणनीति रहेकोले त्योभन्दा पहिले नै सामूहिक राजीनामा दिनुपर्ने पक्षमा केही नेताहरु रहेका छन् ।

यस्तै केही सांसदले ‘फ्लोर क्रस’ गरेर भए पनि ओलीलाई असफल बनाउनुपर्ने मत अघि सारेका छन् । एमालेको खनाल–नेपाल समूहले प्रतिनिधिसभामा आफूहरुको ३५ देखि ४० सांसद रहेको दाबी गर्दै आएका छन् ।

प्रतिनिधिसभामा एमालेका १२१ सांसद छन् । ओलीले विश्वासको मत पाउने र नपाउनेमा खनाल–नेपाल समूहको भूमिका निर्णायक देखिन्छ । आफ्नो पार्टीको पुरैसहित अरु १५ मत लिन सकेको खण्डमा मात्रै प्रधानमन्त्री ओली विश्वासको मत लिन सफल हुने देखिन्छ । 

नेकपा एमालेका सबै सांसदले विश्वासको मत दिएको अवस्थामा प्रधानमन्त्री ओलीले जसपाको महन्थ ठाकुर समूहको मात्रै समर्थन लिए पुग्ने देखिन्छ । अध्यक्ष ठाकुरले ओलीलाई विश्वासको मत दिन हस्ताक्षर अभियान नै चलाउनुभएको छ । 

तर, खनाल–नेपाल समूह जसरी पनि ओलीलाई असफल बनाउने रणनीतिमा रहेकोले विश्वासको मत लिन त्यति सजिलो छैन । 

यस्तै विश्वासको मत लिनबाट प्रधानमन्त्री ओलीलाई असफल बनाउने रणनीतिसहित नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका अरु दलले गृहकार्य सुरु गरिसकेका छन् । माओवादी केन्द्रले विश्वासको मत लिने कदमलाई शंकाको घेरामा राखेको छ । 

प्रधानमन्त्री ओलीले २७ गते विश्वासको मत लिन नसकेको खण्डमा सबैभन्दा ठूलो दलको हैसियतमा फेरि पनि राष्ट्रपतिबाट सपथ ग्रहण गर्ने सम्भावना पनि उत्तिकै बलियो छ ।

विश्वासको मत पुगेन भने तत्काल एमाले संसदीय दलको बैठक बस्ने र संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतले राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने अनि केही घण्टामै प्रधानमन्त्री नियुक्त हुने र शपथग्रहणको कार्यक्रम तय हुन सक्ने सम्भावना छ । यो अभ्यास लुम्बिनी प्रदेशमा भैसकेको छ ।

प्रतिनिधिसभामा अहिले २६७ सांसदमध्ये नेकपा एमालेका १२१, नेपाली कांग्रेसका ६१, माओवादीका ४९, जसपाका ३२ र राप्रपा, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका १/१ सांद रहेका छन् भने एकजना स्वतन्त्र सांसद रहेका छन् । विश्वासको मत लिनका लागि प्रधानमन्त्री ओलीलाई १३६ मत आवश्यक पर्छ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया