महामारीको बेला यार्सा सङ्कलन गर्न लेकतिर लर्को

 बैशाख २२, २०७८ बुधबार ८:२३:४२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – देशका अरु ठाउँमा जस्तै बझाङमा पनि कोरोनाको संक्रमण बढिरहेको छ । गएको वर्ष भारतबाट आउनेहरुलाई पालिकाहरुले क्वरेण्टीन बनाएर सुरक्षित ठाउँमा राख्ने गरेका थिए । यस वर्ष भने कुनै पनि पालिकाले यस्तो नगरी सोझै होम क्वरेण्टीनमा बस्न आग्रह गर्दै घर पठाउने गरेका छन् । तर यसरी भारतबाट आउनेहरु होम क्वरेण्टीन बस्नुको साटो गाउँघरमा घुलमिल हुने गरेका कारण झन् जोखिम बढेको छ । 

यहीबेला यार्सा संकलनको सिजन पनि भएका कारण भारतबाट आउनेहरु यार्सा संकलन गर्न लेकतिर जान थालेका छन् ।  जिल्लामा निषेधाज्ञा लगाइएको भए पनि यार्सा संकलन गर्न लेकतिर जानेको लर्को रोकिएको छैन ।

 ​

लामो समयसम्म खडेरीले खेतबारीमा लगाएको अन्नबाली सबै सुकेकाले यार्सा संकलन गर्न लेकतर्फ जानेहरुको लर्को लागेको हो ।  हरेक वर्ष बझाङमा यार्सा संकलनका लागि मात्रै ४०/५० हजारभन्दा धेरै  स्थानीय लेकतिर जाने गरेका छन् । जिल्लाको  सुर्मा, साइपाल, तलकोट, मष्टा, छबिस पाथिभेरा गाउँपालिका र बुंगल नगरपालिकाका धेरैजसाे बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा र अरु जडीबुटी नै रहेको छ ।

गएको वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले यार्सागुम्बा पाइने पाटनहरूमा संकलकहरुको भिड हुने र कोरोनाको संक्रमण फैलिने खतरा भएपछि यार्सा संकलनमा रोक लगाएको थियो । पालिकाहरुले पनि यार्सा संकलन गर्नमा रोक लगाएका थिए । तर यसवर्ष भने कुनै रोकतोक लगाइएको छैन । 

आम्दानीको मुख्य स्रोत यार्सा भएपछि यस क्षेत्रका बासिन्दा वैशाखदेखि असार मसान्तसम्म घरमा ताला लगाएर सपरिवार लेकतिर जाने गर्छन् । ‘ केही वर्ष यता यार्सा खासै पाईएको छैन, गएको वर्ष यार्सा संकलनमा नै रोक लगायो ।  यार्सा संकलन गर्न नपाउँदा रोजीरोटी खोसियो । यस वर्ष यार्साको उत्पादन राम्रो हुने देखिएपछि लेकतिर जानेको घुइँचो लागेको हो । यस वर्ष भोकमरी हुने भएका कारण पनि यार्सा संकलन गर्न लेकतिर जानुपर्ने बाध्यता छ’ सुर्मा गाँउपालिकाका प्रेमबहादुर बोहराले  भन्नुभयो ।

बुङगल नगरपालिकाका धौलाढुङगा, चुफी, कालीगाड, छरछरे, जलजला, नीलखट्टी, ठाडे  सुर्मा र साइपाल गाउँपालिका जलजला, डाँफेचुली, तपोवन, डाँडा, ठाडे, जर्सी, गोलढुंगा, माझा, फरालखेत, कालापानी, राइढुंगी स्याङवन, लगायतका वन क्षेत्रमा यार्सा संकलकहरु पुगिसकेका छन् । वर्षभरिको घर चलाउने खर्च जोहो गर्न घरमा ताला लगाएर लेकतिर जाने गरेको साइपाल गाँउपालिका वडा नं २ का बसन्त बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रोजगारी केही छैन, आयआर्जन गर्ने माध्यम नै यार्सागुम्बा र जडीबुटी हो ।  गएको वर्ष लकडाउनका कारण वन क्षेत्र बन्द हुँदा संकलन गर्न सकिएन । घर खर्च चलाउन धौ धौ भयो । यार्सा संकलनबाट मात्रै एक परिवारले तीन महिनाको अवधिमा ३ लाख देखि ७ लाख जति आम्दानी हुन्छ । यार्सा तथा जडीबुटी संकलन नगरे भोकमरीको चपेटामा परिन्छ ।’

यता सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहराले स्थानीयबासिन्दाको मुख्य आयस्रोत भनेको नै यार्सा भएका कारण रोक लगाउन वा बन्द गर्न नसकिने बताउनुभयो । ‘गाउँपालिकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न अनुरोध गरेको छ । अनि बाहिर जिल्लाबाट अरु नआउने भएकाले जोखिम हुँदैन’ उहाँले भन्नुभयो ।

गएको वर्ष बन्द गरिएको भए पनि संकलकहरुले लुकीछिपी यार्सा संकलन गरेका थिए । गएको वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले वन बन्द गर्न भनेकाले संकलन कार्यमा रोक लगाइएको भए पनि यसवर्ष संकलन कार्य रोक्ने/नरोक्नेबारे कुनै जानकारी नआएको डिभिजन वन कार्यलय बझाङका कार्यलय प्रमुख कर्णबहादुर खातीले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया