आधा जीवन भारतमा मजदुरी गर्दै बित्यो, महामारीमा अलपत्र परियो

 बैशाख २२, २०७८ बुधबार १७:१५:५० | मेरो कथा मेरो भोगाई

प्रेम रैकाल/बैतडी ।

म १६ वर्षको थिएँ, जति बेला म हातमा सानो झोला र साथमा ठुलो आशा बोकेर भारत परेको थिएँ । ज्यानमा लगाएको एकसरो लुगा पनि सद्दे थिएनन् । पहिलादेखि भारतमा काम गरिरहेका गाउँका दाजुभाइको पछि लाग्दै भारतको पिथौरागढ पुगेँ । 

भर्खर १६ वर्ष लागेको केटो । पहिलो पटक घर छाडेर हिँडेको त्यसमाथि न भाषा जान्नु न काम । दुःख हुनु र लाग्नु स्वाभाविक नै थियो । 

घरदेखि होटेलमा भाडा माझ्ने, खेतबारीको काम गर्नेदेखि ढुङ्गा बोक्नेसम्मको काम गरेँ । अलिअलि आफ्नो लागि बाँकी घरमा पठाएँ । जीवनको दुःख सुख एक्लै गर्दै थिए । 

तर जीवन चलाउन जीवन साथी चाहिने रहेछ । बिहे भयो । दुई बालबच्चा पनि जन्मिए । तर श्रीमतीको साथ भने लामो समयसम्म पाइनँ । दमको रोगी उनी चाडै भगवानको प्यारी भइन ।

मेरो जिम्मेवारी झन् बढ्यो । दुई छोरालाई घरमा छाडेर आफू भारतमा बस्न मनले मानेन । उनीहरूलाई पनि साथैमा लगे । ज्यान फालेरै काम गरेँ । उनीहरूलाई सकेको पढाए, बढाए । ठुला भएपछि त उनीहरू पनि कमाउन थाले । तर मेरो दुःख कम भएन । १६ वर्षको उमेरमा भारत जाँदा मैले जति दुःख गर्थेँ त्यति नै दुःख उमेरले ४० लाग्दा पनि गर्न पर्‍यो । काम कति गरियो, कति कमाइ भयो, दुःख कति भयो त्यसको त हिसाब छैन जीवनमा तर अहिले त्यसको परिणाम म भोग्दै छु । 

पोहोर साल कोरोना आयो । जति नै वर्ष बिताएको किन नहोस् आपतमा देशको जति माया र विश्वास परदेशको नलाग्दो रहेछ । मरे पनि आफ्नै देशमा मरौँला भनेर आइयो । तर आफ्नो गाउँघरको मायाले पेट नभरिँदो रहेछ । गाउँमा रोजगारी पाइने कुरै भएन ।

त्यसमाथि लकडाउन अनि कोरोना । बल्ल बल्ल लकडाउन खुकुलो भयो । बगगाड नदीमा गिट्टी कुट्न थालेँ । दिनको एक सय रुपैयाँ त जसो तसो कमाइ हुन्थ्यो । तर मलाई ज्यानले साथ दिएन । शरीर त भारतमा गरेको दुःखले नै खाइसकेको रहेछ । चिसो पानीमा काम गर्न नसक्ने रहेछु । जसोतसो काम त गर्दै थिए तर एक्कासि बिरामी परेँ । जाँच गराउँदा पत्थरी देखियो । अप्रेसन गर्न पर्‍यो । महेन्द्रनगर र धनगढी गर्दा र अप्रेसन गर्दा एक डेढ लाख रुपैयाँ सकियो । त्यो पनि ऋण काढेर नै ज्यान बच्यो । 

भारतमा छँदा दिनको पाँच सयसम्म कमाइ हुन्थ्यो । खान त पुग्थ्यो । के खाउँला भन्न पर्दैन थियो । तर अहिले त न काम गर्न सक्ने ज्यान रह्यो न त  झिकेर खाउँभन्दा साथमा केही बाँकी भयो । 

झन् यो कोरोना महामारीले त गर्नुपर्‍यो । नुनदेखि चामलसम्म सबैको मूल्य बढ्यो । न काम छ न कमाइ तर मूल्य भने बढ्नु बढ्यो । कोरोना महामारी थिएन भने बरु म भारत जान्थे हुँला, जति सक्थेँ कमाउँथेँ । भोकै त पर्ने थिइनँ । म र मेरो छोराहरू नै भारत जाने थियौँ ।

तर अहिले त भारतमा कोरोनाले विनाश गरेको छ । यहाँ नेपालको पनि अवस्था उस्तै । न कसैले काम दिन्छ न खेतीपाती गरौँ भन्दा छ । भोकै परेँ भन्दा पनि यहाँ त दिने कोही छैनन् । गाउँघरमा सबैको अवस्था उस्तै छ । सरकारले खान नदिए पनि काम दिए आफ्नै कमाइले खाने थियौं । तर काम दिने कुरा त एकादेशको भइहाल्यो ।

जवान छदा कमाएर जमाउन सकेको भए सायद अहिले काम लाग्थ्यो कि । जीवन त भोको पेट र फाटेका लुगा फेर्दै गइहाल्यो । यो अवस्थामा पनि कोरोना कहिले सकिएला र भारत जाउला भन्दै कुर्न परेको छ । देशमै भएर पनि अलपत्रै भएकाे छु ।

अन्तिम अपडेट: जेठ २८, २०७८

तपाईको प्रतिक्रिया