थप चारसहित ५६ जिल्लामा निषेधाज्ञा

 बैशाख २३, २०७८ बिहिबार ६:१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएको छ । बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

बारा र सिरहामा बिहान ६ बजेदेखि सुरु भएको निषेधाज्ञा आदेश अर्को सूचना जारी नभएसम्म रहने छ । बाग्लुङको ढोरपाटन र गलकोट नगरपालिका तथा बडिगाड र निसीखोला गाउँपालिकामा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ । बाग्लुङकै तमानखोला र बरेड गाउँपालिकामा भोलि बिहान पाँच बजेदेखि निषेधाज्ञा सुरु हुनेछ ।

सिन्धुपाल्चोकमा अरनिको राजमार्ग अन्तर्गत बनदेउदेखि तातोपानीसम्म, खाडीचौरदेखि ठूलोपाखर हुँदै मुडे सडकखण्डको जिल्लाभित्र, बनदेउदेखि चौतारा हुँदै स्याउलेसम्म, जिरोकिलो हुँदै बाहुनेपाटी-सिपाघाट मेलम्ची-हेलम्बुको केउल सडकखण्डमा दायाँ बायाँ पाँच-पाँच सय मिटरसम्म निषेधाज्ञा लगाइएको छ । त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ४, ५ र ९, मेलम्ची नगरपालिका वडा नम्बर ११,  बलेफी गाउँपालिकाको केही ठाउँमा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ ।

अहिलेसम्म देशभर पूर्ण र आंशिक गरी ५६ वटा जिल्लामा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । ४१ जिल्लामा पूर्ण र बाँकी १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको हो । बाँके, सुर्खेत, काठमाण्डौ, ललितपुर, भक्तपुर कास्की, कैलाली, पर्सा, कञ्चनपुर र सुनसरी गरी १० जिल्लामा भने निषेधाज्ञा लम्ब्याइएको छ । यी जिल्लाहरुमा २७ गतेदेखि आउँदो २९ गतेसम्मको विभिन्न मितिमा निषेधाज्ञा लम्ब्याइएको हो ।

मन्त्रिपरिषद्को बैठकले हिमाली र पहाडी जिल्लामा दुई सय जना सक्रिय सङ्क्रमित भएमा र तराई तथा सहरी क्षेत्रमा पाँच सय सक्रिय सङ्क्रमित भएमा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार निषेधाज्ञा लगाउँदै आएका छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया