न्यायाधीशले चियाले स्वागत गरे प्रकाण्डलाई

 भदौ ८, २०७५ शुक्रबार १५:५४:२१ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट –    प्रहरीले गिरफ्तार गरेर म्याद थपको लागि ल्याएका व्यक्तिलाई न्यायाधीशले कस्तो व्यवहार गर्लान् ? कानुनी प्रक्रिया अनुसारको म्याद थप गरी पठाउलान् । तर, शुक्रबार जिल्ला अदालत नुवाकोटको दृश्य फरक थियो । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई म्याद थपको लागि जिल्ला अदालत नुवाकोट पुर्‍याउँदा जिल्ला न्यायाधीशले चियाले स्वागत गरे । 

जिल्ला अदालतमा श्रेस्तेदार कार्यकक्षमा श्रेस्तेदार शिवप्रसाद बज्जारासँग एकछिन भलाकुसारी गरे प्रकाण्डले । त्यसपछि न्यायाधीशको कार्यकक्षमा पुर्‍याइएका प्रकाण्डलाई न्यायाधीश ऋषिकेष वाग्लेले सन्चो–बिसन्चो सोध्दै चियाले स्वागत गरेका थिए । न्यायाधीश वाग्लेले भने, ‘अदालती प्रक्रिया सकेपछि तपाईँका केही कुरा भए मिडियासँग पनि बोल्न पाउनु हन्छ ।’ 

न्यायाधीशले मिडियासँग बोल्न पाउनुहुन्छ भने पनि प्रहरीले प्रकाण्डलाई सञ्चारकर्मीसँग बोल्न रोक्ने प्रयास गरेको थियो । प्रहरीले बोल्न अवरोध गर्दागर्दै प्रकाण्डले भने, ‘कुन ठाउँमा कहिले एक्स्काभेटर जलेको मलाई थाहा छैन । यो जालझेल षड्यन्त्रले राजनीति चल्दैन । मलाई फसाउने षड्यन्त्र मात्र हो । यो राज्यको संविधानप्रति हाम्रो वैचारिक असहमति भएको कारणले गर्दा फसाउन खोजिएको हो ।’

प्रकाण्डले भने, ‘मलाई शारीरिक यातना त दिइएको छैन । तर मानसिक यातना धेरै दिइएको छ । आज रातभरि गाडीमा हिँडाएर बिहान तीन बजे ल्याइयो । मानसिक रुपमा कमजोर बनाउने प्रहरीको रबैया हो यो ।’
 

जिल्ला अदालतले प्रकाण्डलाई अनुसन्धानको लागि तीन दिन हिरासतमा राख्न म्याद दिएको छ । 

गएको साउन ७ गते राति बेलकोटगढी नगरपालिका–९, भट्टथोकमा दुई वटा एक्स्काभेटरमा जलाएको आरोपमा मुद्धा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनको दुई वटा एक्स्काभेटरमा आगो लगाइएको थियो । आगो लगाएको कारण एउटा जलेर पूर्ण क्षति भएको थियो भने एउटामा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

1 Comments

  • दीलिप देवकोटा

    Aug. 25, 2018, 9:35 p.m.

    न्याय मुर्ति को न्याय सम्पादन येहि हो र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया