राष्ट्रपतिद्वारा विवादमै रहेको नागरिकतासम्बन्धी अध्यादेश जारी

 जेठ ९, २०७८ आइतबार १६:४८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । अध्यादेशमा रहेका केही प्रावधान विवादमै रहे पनि राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेकाे विज्ञप्तिमा सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको जनाएको छ ।  

विशेषगरी जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन र उसको साथ पाउनकै लागि प्रधानमन्त्रीको दबाबमा मन्त्रिपरिषद्को बैठकले जेठ ६ गते राष्ट्रपतिसमक्ष अध्यादेश पेस गरेको थियो । सरकारले पठाएका विषय जस्ताको त्यस्तै राखेर अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन् । 

सरकारले ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने विषय समेटेर अध्यादेश राष्ट्रपतिकहाँ पठाएको थियो । त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाको नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि समेटिएको छ । 

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दुई वर्षदेखि प्रतिनिधि सभामै विचाराधीन छ । संसद् सञ्चालन हुँदा टुङ्गोमा नपुगेको यो विषयलाई सरकारले अध्यादेशमार्फत कार्यान्वयनमा ल्याएको छ । जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने प्रावधानमा स्वयम् एमाले र माओवादी केन्द्रले आपत्ति जनाएका थिए । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया