गणतन्त्र दिवस मनाइँदै ः समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनामा थप उत्प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

 जेठ १५, २०७८ शनिबार ६:३८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज गणतन्त्र दिवस । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १३ वर्ष पूरा भएको छ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

कोरोना सङ्क्रमणको जोखिमका कारण दिवसका अवसरमा विशेष कार्यक्रम गरिएको छैन । लामो शाहवंशीय राजपरम्परा अन्त्य भएको घोषणा भएको यो दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइन्छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ ।

२०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । सङ्घीय गणतन्त्र स्थापना पछिका १३ वर्ष सोचेजति र नागरिकले आशा गरेअनुसार उपलब्धि हासिल नभएको विश्लेषण हुँदै आएको छ । पछिल्ला वर्ष भ्रष्टाचार तथा दण्डहीनता बढ्दो छ । कोरोना महामारीको व्यवस्थापनमा हेलचेक्र्याइँले पनि राज्यप्रति नागरिकहरूको भरोसा कम हुँदै गएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको अवसरमा शुभकामना दिँदै समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । उहाँले संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि दिवसले थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पनि शुभकामना सन्देश दिनुभएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया