लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपचुनाव हुँदै

 जेठ १७, २०७८ सोमबार ६:३७:४२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभाको उपचुनाव हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । उपचुनावमा दुई जनाको उम्मेदवारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।

दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने मतदानको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो ।  माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो । यसैबीच सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका चार जनाले पनि मताधिकार पाएका छन् ।

उहाँहरुलाई हिजो निर्वाचन आयोगले मताधिकार दिएको हो । जसपाले कारबाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई निर्वाचन आयोगले हिजो मतदानको अधिकारको निर्णय गरेको हो । यसअघि आयोगले प्रकाशित गरेको मतदाता नामावलीमा उनीहरुको नाम थिएन ।

यससँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्यले मतदान गर्नेछन् ।  यस्तै पालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष उपाध्यक्ष गरी दुई सय १७ जना मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र पालिकाका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि सबै मतदाताको कोरोना परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ । पीसीआर परीक्षण नगरेकाहरुका लागि मतदानस्थलमै एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत थापाले बताउनु भयो । घोराहीमा रहेको कर्मचारी मिलन केन्द्र परिसरमा हुने निर्वाचन हुने छ । प्रत्येक मतदान केन्द्रमा दुई जना स्वास्थ्यकर्मीसहित ११ जनाका दरले कर्मचारी खटाइने भएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया