भारतले डिसेम्बर भित्रमा सबै वयस्कलाई कोरोना विरुद्धको खोप लगाउने

 जेठ २३, २०७८ आइतबार ९:३९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले आउँदो डिसेम्बर भित्रमा सबै वयस्क मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने दाबी गरेको छ । भारतको स्वास्थ्य मन्त्रालयले आउँदो अगस्ट महिनादेखि प्रति महिना ४० करोड डोज खोप दिएर डिसेम्बरसम्ममा सबै मानिसलाई खोप लगाइसक्ने दाबी गरेको बीबीसीले जनाएको छ ।

पाँच महिनामा एक सय आठ करोड मानिसका लागि दुई सय १६ करोड डोज खोप आवश्यक पर्ने र त्यो जुटाउन भारत सरकार सक्षम रहेको मन्त्रालयको दाबी छ । अगस्टदेखि डिसेम्बर महिनामा ७५ करोड डोज कोभिशिल्ड, ७५ करोड डोज कोभ्याक्सिन र जोनोवा, स्पुतनिक लगायतका खोप ६० करोड डोज उपलब्ध हुने मन्त्रालयले जनाएको छ ।

गएको जनवरी १६ तारिखदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको भारतले अहिलेसम्म २२ करोड डोज खोप लगाएको छ । भारतमा कुल जनसङ्ख्याको झण्डै चार दशमलव दुई प्रतिशत मानिसले खोप लगाइसकेका बताइएको छ । अप्रिल महिनामा दैनिक औसतमा दैनिक ४० लाख डोज खोप दिएको भारतमा अहिले दैनिक २३ लाख डोज हाराहारीमा खोप लगाइरहेको छ ।

अहिले खोप लगाउने दर घटिरहेकाले डिसेम्बरसम्ममा सबैले खोप लगाउन कठिन हुने विज्ञहरुले बताएका बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया