प्रतिनिधि सभा विघटनका मुद्दाको सुनुवाइका लागि नयाँ संवैधानिक इजलास गठन

 जेठ २३, २०७८ आइतबार १०:२६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सुनुवाइ गर्न सर्वोच्च अदालतमा नयाँ संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहनुभएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि पक्ष र विपक्षमा सर्वोच्च अदालतमा परेका ३० वटा मुद्दामा आजदेखि फेरि सुनुवाइ हुन थालेको हो । यसअघि नेकपाको एकता बदर गर्ने न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा रहेको भन्दै वरिष्ठ अधिवक्ताले नै विरोध गरेपछि यो सुनुवाइ गएको १८ गतेदेखि रोकिएको थियो । 

नेकपा फुटाउने निर्णय गरेका दुई जना न्यायाधीशको उपस्थितिलाई लिएर वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरु संवैधानिक इजलासमै नबस्ने जानकारी गराएपछि यो विषय झनै तात्तिएको थियो ।

वरिष्ठ अधिवक्ताहरुको विरोध र दुई जना वरिष्ठ न्यायाधीशले नै संवैधानिक इजलासमा नबस्ने भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने वचन दिनुभएको थियो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया