कर्णालीमा थपिएका दुई मन्त्रीको शपथ दिउँसो दुई बजे

 जेठ २३, २०७८ आइतबार १०:४६:२८ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट थपिएका दुईजना मन्त्रीको शपथ दिउँसो दुई बजे हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसको कोटाबाट दुईजनालाई मन्त्री नियुक्त गर्दै हिजो बेलुकी मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नियुक्त गरिएको र उहाँहरुको शपथ ग्रहण दिउँसो दुई बजेका लागि तय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

गएको वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसदमा विश्वासको मत दिएको कांग्रेसले हिजोमात्रै सरकारमा दुई मन्त्री पठाउने निर्णय गरेको हो । मुख्यमन्त्रीले विश्वासको मत लिँदा कांग्रेसको समर्थनसँगै एमालेका चार जना सांसदले फ्लोरक्रस गरेर सरकार जोगाएका थिए ।

दुई मन्त्री थपिएसँगै कर्णालीको मन्त्रिमण्डल आठ सदस्यीय बनेको छ । कर्णाली सरकारमा मुख्यमन्त्रीसहित तीन जना माओवादी केन्द्रका, एमाले माधव समूहका तीन जना र कांग्रेसका दुई जना मन्त्री भएका छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया