बनिसकेका नीति तथा याेजना कार्यान्वयन गर्नु मेराे पहिलाे प्राथमिकता : मन्त्री चाैधरी

 जेठ २३, २०७८ आइतबार २०:४९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ । आइतवार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री चौधरीले सरकारले बनाएका कार्यान्वयन हुन नसकेका नीति तथा योजनालाई कार्यान्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो । 

उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकले सरकारबाट पाउनुपर्ने सेवा तथा सुविधालाई छिटो र सहज रूपमा दिलाउन पनि आफूले जोड दिने बताउनुभयो । मन्त्री चाैधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा एकल महिलाले राज्यबाट पाउने सुविधा कतिपय पालिकाकाे ढिलासुस्तीले गर्दा समयमै नपाएको गुनासाहरू भएको भन्दै आफ्नो सेवा प्रवाहलाई चुस्त–दुरुस्त राख्न आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो कार्य योजना, नीतिगत कामहरू त छँदैछ । तर कस्तोलाई प्राथमिकता दिने, धेरै योजना बनाएर मात्रै होइन, बनेको योजनालाई पनि कसरी सकारात्मक रूपले उठाउने  जोड दिन जरुरी छ । म विश्वास दिलाउँछु, जुन नीतिहरू बनिसकेको छ, जुन कार्यान्वयन भयसकेको छैन, त्यसमा बढी नै जोड दिएर गर्नेछौँ । धेरै चिज बनाएर एकैचोटि यो गर्छु, त्यो गर्छु भन्दा पनि बनेको नेपाल सरकारको संविधानदेखि नियम, कानुन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा जे पनि छ, त्यसलाई कसरी कार्यान्वयन र छिटो भन्दा छिटो मन्त्रालयबाट पाउने सेवा, सुविधा हो, त्यसमा जोड दिने ।’

मन्त्री चौधरीले समाजमा रहेका विभिन्न कुरीति अन्त्यका लागि पाँच वर्षीय रणनीतिक कार्ययोजनाको फाइल सदर गरेर कार्यभार सम्हाल्नुभएको हो । कार्यभार सम्हाल्दै उहाँले देशमा विद्यमान दाइजो प्रथा र बालविवाह अन्त्यका लागि काम गर्ने पनि बताउनुभयाे ।   

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया