काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ९० हजारभन्दा तल झर्‍याे

 जेठ २३, २०७८ आइतबार १६:५०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ हजार दुई सय १७ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा चार लाख ९१ हजार नौ जना सङ्क्रमणमुक्त भएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार चार सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार चार सय ७१ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार २४ जना र तीन हजार दुई सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा चार सय ५५ गरी तीन हजार चार सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये २८ दशमलव ९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख एक हजार ६ सय ८३ पुगेको छ । जसमध्ये पाँच लाख ८८ हजार एक सय २४ जनामा पीसीआर र १३ हजार पाँच सय ५९ जनामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा प्राप्त विवरणअनुसार थप ९९ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार आठ सय ९८ पुगेको छ ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया