चीनले अनुदानमा दिएको खोप लगाउन सुरु, थप खोप खरिदको प्रक्रिया चलिरहे पनि अझै अनिश्चित

 जेठ २५, २०७८ मंगलबार १२:७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले आजदेखि चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप भेरोसेल लगाउन सुरु गरेको छ । काठमाण्डौ उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

खोपको उपलब्धताका आधारमा काठमाण्डौ उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेरकालाई खोप दिइने उहाँले जानकारी  दिनुभयो । साथै तिब्बतसँग सीमा जोडिएका पालिकामा १८ वर्षदेखि माथिका सबैलाई यही चरणमा खोप लगाइने छ । हिमाली क्षेत्रमा पटक–पटक खोप पुर्याउन गाह्रो हुने भएकाले १८ वर्षमाथिकालाई नै खोप लगाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो । 

राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी जिन पिङबीच टेलिफोन कुराकानीपछि चीनले अनुदानमा थप १० लाख मात्रा खोप उपलब्ध गराएको हो । यसअघि चीनले ८ लाख खोप अनुदानमा दिएको थियो ।

चीनसँगै राष्ट्रपति भण्डारीले भारत, अमेरिका, बेलायत र रुसका राष्ट्रप्रमुखलाई समेत खोप उपलब्ध गराउन पत्राचार गर्नुभएको छ । नेपालले भारत, चीन र रुसमा उत्पादित खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । 

गएको शुक्रवार सरकारले चिनियाँ कम्पनी सिनोभ्याकले विकास गरेको कोरोना विरुद्धको खोपलाई समेत अनुमति दिएको छ । योसहित नेपालमा अनुमतिप्राप्त कोरोना विरुद्ध खोपको सङ्ख्या पाँच पुगेको छ । यसअघि भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड, भारतीय खोप कोभ्याक्सिन, चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल र रुसी खोप स्पुतनिक 'भी'ले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाइसकेका छन् । नेपालमा अहिलेसम्म कोभिशिल्ड र भेरोसेल खोप मात्रै प्रयोग भएको छ ।

चीनबाट थप २० लाख मात्रा भेरोसेल खोप खरिद गर्न प्रक्रियाअघि बढेको छ तर छलफलकै क्रममा रहेका सम्झौता भइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलका अनुसार चीनबाट खरिद गर्ने भनिएको खोप र डेनमार्कबाट एस्ट्राजेनेकाको खोप ल्याउन प्रयास भइरहेको छ ।

डेनमार्कले एस्ट्राजेनेकाको २४ लाख डोज खोप किनेर राखेको छ तर आफ्ना नागरिकलाई फाइजरको खोप लगाइरहेको छ । डेनमार्कले खरिद गरेर राखेको खोप नेपाल ल्याउन कुराकानी थालिएको डाक्टर पोख्रेलले जानकारी दिनुभयो । तर यसबारे पनि टुङ्गो लागिसकेको छैन ।

यसअघि नै कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका झण्डै १४ लाख नेपाली नागरिक दोस्रो मात्राको पर्खाइमा छन् । उनीहरुलाई दोस्रो मात्राको खोप दिन ढिला भएको छ । भारतको सिरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख खोप आपूर्ति नभएपछि कोभिसिल्ड खोपको दोस्रो मात्रा दिने अभियान नै प्रभावित भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले दोस्रो मात्राको खोपको पर्खाइमा रहेका नागरिकलाई केही समय धैर्य गर्न आग्रह गर्नुभएको छ । अमेरिकाले नेपालसहित एसियाका विभिन्न १६ देशलाई कुल ७० लाख खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकाले यही जुन महिनाको अन्त्यसम्म खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको तर खोपको परिणाम अहिलेसम्म नखुलेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया