लोभ लाग्ने बगैंचा, लटरम्म स्याउ

 भदौ १०, २०७५ आइतबार १५:३९:२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – बगैंचामा स्याउ लटरसम्म पाकेर रातै भएको छ । स्याउ पाक्न थालेपछि किसान आ–आफ्नो बगैंचाको हेरचाहमा जुटेका छन् ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार यहाँको ३ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा स्याउका विरुवा रोपिएका छन् ।  यसमध्ये ९ सय हेक्टरमा स्याउ फल्ने गर्दछ ।

गएको वर्षको तथ्यांकअनुसार पाँच हजार पाँच सय मेट्रिक टन स्याउ उत्पादन हुने गरेको छ । यस वर्ष असिनाका कारण फूल झरे पनि केही थोरै तर गुणस्तरीय स्याउ फल्ने कृषि विज्ञको भनाई छ ।

स्याउले किसानको जीवनशैली फेरिंदै 

बगैंचा स्थापना गर्ने होडबाजीसँगै अहिले गुणस्तरीय स्याउ उत्पादनमा कडा प्रतिस्पर्धा हुन थालेको छ । पातारासी उर्थुका स्याउ किसान मुनबहादुर बिष्टले बोराबाट सुरु गरिरहेको व्यापार अहिले गाडीमा निर्यात गर्ने गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा अब्बल किसानको रुपमा बिष्ट गनिनुहुन्छ । उहाँको ३ वटा बगैंचामा रहेका स्याउबाट वार्षिक १० देखि १२ लाख रुपैयाँ आम्दानी हुन्छ । चन्दननाथ १० का शंखु खत्रीले पनि राम्रो मूल्यमा स्याउ बेचिरहनुभएको छ । स्याउबाट उहाँले वार्षिक ३ देखि ५ लाख रुपैयाँ आम्दानी गरेको बताउनुभयो ।

पछिलो समयमा जुम्लामा स्याउ खेती निकै फष्टाउन थालेको छ । १० वर्षअघि जिल्लामा एक घर, एक स्याउ बगैंचा भन्ने अवधारणा ल्याएपछि किसानको आकर्षण बढेको हो । अहिले जिल्लाका ८० प्रतिशत घर अर्थात झण्डै १४ हजारले आफ्नो स्याउ बगैंचा तयार गरेको जिल्ला कृषि बिकास कार्यालयको तथ्याँकमा छ ।

‘किसानहरु स्याउखेतीमा निकै आकर्षित भएका छन’ जिल्ला कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत तथा सूचना अधिकारी बालकराम देवकोटाले भन्नुभयो । जुम्लामा पुरानो जातका स्याउहरु सँगै नयाँ प्रविधि हाईडेन्सिटिका स्याउ भित्रिएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्लाका अनुसार जुम्लामा ईटालियन फुजी र गाला नामक स्याउका विरुवा भित्र्याएर फल्न शुरु भएको छ ।

जुम्लामा ५ हजार ५ सय जातका स्याउका विरुवाहरु रोपिएका स्याउ सुपरजोन कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत टिकाराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जुम्लामा पाईने पुराना जातका स्याउहरु भन्दा इटालियन फुजी स्याउ निकै मिठो र मूल्य पनि राम्रो छ ।

राजमार्गका कारण निर्यात बढ्यो

सुर्खेत जुम्ला कर्णाली राजमार्ग जोडिएपछि यहाँका किसान स्याउ खेतीतर्फ लागेका छन् । पछिल्लो समयमा राजमार्ग कालोपत्रे भएपछि जिल्ला बाहिर सजिलै निर्यात हुने भएकाले पनि जुम्ली किसानको आकर्षण स्याउ खेतीमा बढेको हो ।

गएको वर्ष जिल्ला कृषि विकास कार्यालयले सिफारिस गरेका २२ सय टन स्याउ जिल्ला बाहिर मात्रै निर्यात भएको तथ्यांक छ  । अबको ५ वर्षमा जुम्लाले झण्डै एक अर्ब रुपैयाँको स्याउ उत्पादन गर्न सक्ने जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरत कँडेलले जानकारी दिनुभयो । 

कृषि विकास कार्यालयले स्याउ आत्मनिर्भर कार्यक्रममार्फत सिंचाई, साना अनुदानका कार्यक्रम, काँटछाँट, औषधी उपचार तथा प्रचार प्रसार गरेपछि स्याउ खेती फस्टाएको योजना अधिकृत देवकोटाको भनाई छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया