काेराेना महामारी नियन्त्रण गर्न निर्णायक कदम चाल्न दलहरूलाई एम्नेस्टीकाे आग्रह

 जेठ ३१, २०७८ सोमबार १४:२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एम्नेस्टी इन्टरनेशनले कोरोना महामारी नियन्त्रण गर्न निर्णायक कदम चाल्न दलहरूलाई आह्वान गरेको छ । एम्नेस्टीले कोरोना महामारीको दोस्राे लहर सामना गर्नुपरेको अवस्थामा दलहरूले मतभेद हटाएर आउँदाे हप्ताहरूमा निर्णायक कदम चाल्नुपर्नेमा जोड दिएको हो ।

साथै एम्नेस्टीले नेपालमा महामारीको जोखिम कायमै रहेकाले अक्सिजन, खोप र अत्यावश्यक मेडिकल सामग्रीका लागि अन्तर्राष्ट्रिय समुदायलाई थप सहयोग उपलब्ध गराउन पनि आह्वान गरेको छ । अक्सिजन, सघन उपचार कक्ष, व्यक्तिगत सुरक्षात्मक उपकरण र खोपको चरम अभावमा नेपालको स्वास्थ्य संरचना अहिलेकै सङ्क्रमण भारले कमजोर बन्न पुगेका एम्नेस्टीको ठहर छ ।

गएकाे पाँच महिनामा दुई पटकसम्म देशको संसद् विघटन गर्ने गरी नेताहरू आन्तरिक कलहमा सामेल भइरहेका बेला कोरोना व्यापक फैलिएको एम्नेस्टीले निकालेको विज्ञप्तिमा उल्लेख छ । 

‘हामीले एक महिनाअघि भारतमा जुनखालको हतास अवस्था देखेका थियौँ त्यस्तै अवस्था अहिले नेपालमा पनि देखिरहेका छौँ । अस्पतालहरूमा क्षमताभन्दा बढी बिरामीको चापका कारण देशको स्वास्थ्य सेवा प्रणाली लडखडाइरहेको छ र अत्यधिक कामको बोझमा रहेका र निराश लाग्दो तहको न्यून स्राेत साधनमा रहेर खटिरहेका स्वास्थ्य कर्मचारीहरूले अत्याश लाग्दो तहको आफ्नो मागलाई पूरा गर्न सकिरहेका छैनन्’, एम्नेस्टी  इन्टरनेशनलकी एसिया प्यासिफिक निर्देशक यमिनी मिश्रले भन्नुभयो ।

प्रशासनिक झगडाले अड्किरहेको अक्सिजनको खरिद र आपूर्तिलाई प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ ।

दक्षिण एसियाका अन्य देश जस्तै नेपालले पनि खोपको चरम अभावको सामना गरिरहेको तर धनी देशहरूले आफ्नो आवश्यकताभन्दा धेरै खोप सञ्चय गरिरहेको समेत विज्ञप्तिमा उल्लेख छ । नेपाललाई तत्काल खोपको आवश्यकता रहेको तर चीन र अमेरिकाले खोप दिने वाचा गरेका भए पनि यो पर्याप्त नहुने एम्नेस्टीले जनाएको छ ।

खोपमा समतामूलक पहुँच सुनिश्चित गर्न र स्थानीय रूपमा खोप उत्पादनका लागि स्राेत साधन र प्रविधिको स्थानान्तरणलाई प्राथमिकीकरण गर्न कोभ्याक्स जस्तो विश्वव्यापी संयन्त्रलाई स्पष्ट सहयोग प्रदान गर्नुपर्नेमा यमिनी मिश्रको जोड छ ।  

 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया