जेठ महिनामा मात्रै २३ सय भन्दा धेरैले लिए सामीमार्फत मनोपरामर्श सेवा

 असार १, २०७८ मंगलबार १७:५०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुरक्षित आप्रवासन परियोजना सामीले गएको जेठ महिनामा मात्रै २३  सय ४ जनालाई मनोपरामर्श सेवा प्रदान गरेको छ ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि गएको जेठ महिनामा मात्रै फोनमार्फत २ हजार ७४ जनालाई टेली काउन्सिलिङ र २३० जनालाई आइसोलेसन सेन्टर तथा क्वरेण्टीनहरुमा गएर परामर्श प्रदान गरिएको परियोजनाकी आप्रवासी स्रोत केन्द्र तथा मनोपरामर्श कार्यक्रम संयोजक रोनी प्रधानले जानकारी दिनुभयो ।

कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमणको डर र मृत्युको खबरले धेरै जनामा डर, चिन्ता, आफैँलाई सङ्क्रमण हुने हो कि भन्ने त्रास बढेको उहाँ बताउनुहुन्छ ।

नेपाल सरकार र स्विस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा १५६ पालिकाको नेतृत्वमा सामी परियोजना सञ्चालन भइरहेको छ । यो परियोजनालाई प्राविधिक सहयोग भने हेल्भटास नेपालले गरिरहेका छ ।

परियोजना देशका ३९ जिल्लाको १५६ पालिकामा सञ्चालन भए पनि मनोपरामर्श कार्यक्रम भने १५२ वटा पालिकामा सञ्चालन भइरहेको छ । प्रत्येक पालिकामा तालिम प्राप्त एक जना मनोपरामर्शकर्ताहरु रहेको कार्यक्रम संयोजक प्रधानले जानकारी दिनुभयो । 

सामान्य अवस्थामा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवार र रोजगारीबाट फर्किएका स्वयंलाई लक्षित गरी सामीले मनोपरामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ । तर यो महामारीको दोस्रो लहरमा भने आवश्यकता अनुसार विभिन्न आइसोलेसन सेन्टरहरूमा कोरोना सङ्क्रमित व्यक्तिहरूलाई नै परामर्श प्रदान गरिएको  छ । 

‘यो महामारीको समयमा मनोपरामर्श आवश्यकता भएका सबैलाई प्राथमिक मनोसामाजिक सहयोग प्रदान गरिएको छ, आइसोलेसन सेन्टरमै गएर फेस टु फेस र फोनमार्फत पनि अहिले यो सेवा प्रदान गरिरहेका छौं,’ कार्यक्रम संयोजक प्रधानले भन्नुभयो,‘ पालिकाहरूले नै अहिले यो कार्यक्रमलाई एकदम महत्त्व दिएर अघि बढाउनुभएको अवस्था छ ।’

कोरोना महामारीको पहिलो लहरमा पनि परियोजना अन्तर्गत १३ हजार ७ सय ९४ जनालाई क्वरेण्टीन स्थलमै गएर र फोनमार्फत १६ हजार ७ सय ३१ जनालाई प्राथमिक मनोसामाजिक सहयोग प्रदान गरिएको परियोजनाले जनाएको छ । 

अहिले कोरोना सङ्क्रमण रोकथामका लागि विभिन्न श्रम गन्तव्य देशबीच उडान बन्द छ । तर कतारबाट नियमित उडान सुरु भएकाले श्रमिकहरू स्वदेश फर्कन थालेका छन् । सामीका अनुसार अब यो समयमा फर्कने श्रमिकलाई पनि परामर्श प्रदान गर्ने गरी तयारी थालिएको छ ।

कुनै पनि किसिमको मानसिक समस्या भएमा सामीमार्फत पाइने मनोपरामर्श सेवा निःशुल्क लिन सकिन्छ । पालिकाहरूमै मनोपरामर्शकर्ताहरु भएकाले जनप्रतिनिधि अथवा जिल्लामा रहेको आप्रवासी स्रोत केन्द्रमार्फत परामर्शकर्ताको सम्पर्क नम्बर पाउन सकिन्छ । 

अहिले त पालिकाहरूले नै मनोपरामर्शकर्ताहरुको सम्पर्क नम्बर आफ्नो सामाजिक सञ्जालमा उपलब्ध गराएका छन् । यसका साथै सामी परियोजनाको फेसबुक पेज ‘सेफर माइग्रेसन प्रोजेक्ट फेज थ्री’ मार्फत पनि आप्रवासी स्रोत केन्द्रको नम्बरहरू पाउन सकिन्छ । आप्रवासी स्रोत केन्द्रले मनोपरामर्शकर्तासँग सजिलै तपाईँलाई जोड्ने काम गर्छन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया