काेभिड–१९ : 'चिनियाँ माेडल' मा एन्टिजेन–पीसीआर परीक्षण गर्दै मध्यपुरथिमि नगरपालिका

 असार ४, २०७८ शुक्रबार १४:१७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्थाबारे थाहा पाउन एकै दिन एकै चोटि १० हजार जनाको निःशुल्क एन्टिजेन र पीसीआर परीक्षण गर्ने भएको छ ।नगरपालिकाले प्रत्येक वडामा भोलि (शनिवार) बिहान १० बजेदेखि ५ बजेसम्म एकै पटक १० हजार जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्ने नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । 

भक्तपुरमा सङ्क्रमित र मृत्यु दरको सङ्ख्या सबैभन्दा बढी भएको यस नगरपालिकाले चिनियाँ मोडलमा नेपालमै पहिलो पटक एकै चोटि एन्टिजेन र पीसीआर परीक्षण गरी कोभिड–१९ सङ्क्रमणको विश्लेषण गर्ने भएको हो । 

‘हाम्रो नगर क्षेत्रमा नागरिक कोरोनाबाट कति सुरक्षित छन्, जोखिमको अवस्था कस्तो छ, भावी रणनीति कस्तो बनाउने भनेर विभिन्न कोणबाट विश्लेषण गर्न नगरपालिकाले नगर क्षेत्रका नौ वटै वडामा एकै पटक १० हजार जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दैछ’, मेयर श्रेष्ठले भन्नुभयो, ‘चीनले यही विधिबाट परीक्षण गरेको हो, मध्यपुरथिमि नगरपालिकाले नेपालमा पहिलो पटक यो मोडलमा परीक्षण गर्ने भएको हो ।’

यसका लागि नगरपालिकाले झन्डै ३५ लाख रुपैयाँ खर्च गर्ने छ भने परीक्षणका लागि ११ हजार किटको व्यवस्था गरिसकेको छ । नगरपालिकाले वडा नंं. १ को निर्मल बैँक्यूट, २ को महेन्द्र निमावि जातिगाल, ३ को वडा कार्यालय कौशलटार, ४ को जनआदर्श क्याम्पस, ५ को भुँलाखेल पुरानो वडा कार्यालय, ६ को स्वास्थ्य चौकी, ७ को स्वास्थ्य चौकी, ८ को नर्थ प्वाइन्ट महल र ९ को स्वास्थ्य चौकी भवनमा स्वाब सङ्कलन गर्ने छ । 

एउटा वडाबाट झन्डै ११ सय जनाको परीक्षण गरिने र सङ्क्रमित बढी भएका र जोखिमयुक्त क्षेत्रलाई लक्षित गरी परीक्षण केन्द्र निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।     

परीक्षणका लागि नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापनसहित यहाँका स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ । प्रत्येक केन्द्रमा चिकित्सक, नर्स, ल्याब टेक्निशियन सहित जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउटका १८–१८ जना स्वयंसेवक, मध्यपुर, नागरिक र समिट अस्पतालबाट थप ६ जना ल्याब टेक्निशियन गरी एक सय ५० जना जनशक्ति परिचालन गरिने भएको छ । एन्टिजेन परीक्षणको २० मिनेटमा रिपोर्ट आउने र पीसीआर परीक्षणको रिपोर्टसहित २४ घण्टाभित्र दुवै रिपोर्ट सार्वजनिक गरिने भएको छ । 

निषेधाज्ञाका कारण काठमाण्डौ उपत्यकामा कोभिड सङ्क्रमणको अवस्था कस्तो छ भनेर विज्ञमार्फत अनुसन्धानको रुपमा मूल्याङकन गर्न सकिने भएकाले यसैको आधारमा उपत्यका नगरपालिका फोरमलाई आउँदा दिनमा नीति निर्माणमा सहयोग पुग्ने नगरपालिका फोरमका सचिवसमेत रहनुभएका मेयर श्रेष्ठको भनाइ छ । 

‘यो परीक्षणसँगै उपत्यकामा कोरोना सङ्क्रमणको अवस्था कस्तो छ, निषेधाज्ञा हटाउने तयारी भइरहेको अवस्थामा कसरी जाने, नागरिकको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले कस्तो नीति बनाउने भन्ने तयारी गर्न सहज हुन्छ र यो परीक्षण नेपालकै लागि ऐतिहासिक हुनेछ’, उहाँले भन्नुभयो ।   

मध्यपुरथिमि नगरपालिकामा कोरोनाको पहिलो र दोस्रो लहरमा ६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ९१ जनाको ज्यान गएको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया