कोरियालाई निम्तो पठाइयो, जापानको टोली आउँदै, अक्टोबरदेखि नेपाल एअरलाइन्सका जहाज जापान उड्न सक्ने

 भदौ ११, २०७५ सोमबार १३:२:२५ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – जापानसँग २५ वर्षपछि हवाई सम्झौता भए पनि उडान अनुमति नदिएपछि नेपाल वायुसेवा निगमले जापानी टोलीलाई नेपाल बोलाएको छ । जापानको टोली अर्को हप्ता नेपाल आइपुग्ने निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

‘हवाइ सम्झौता भए पनि जापानले उडान अनुमति नदिएको विषयमा हामी गम्भीर छौं, यसबारेमा कुरा गर्न हामीले जापानका २ जना अधिकारीलाई नेपाल बोलाएका छौँ, उहाँहरु अर्को हप्ता नेपाल आउनुहुन्छ’, महाप्रवन्धक कंशाकारले भन्नुभयो, ‘हामीले नारिता विमानस्थलमा उडान गर्ने योजना बनाएका छौँ, अक्टोबरबाट उडान गर्न सकिन्छ भन्नेमा हामी ढुक्क छौँ ।’

जापानले उडान अनुमति नदिनुमा युरोपियन युनियनले नेपाली विमानमाथि लगाएको प्रतिबन्ध पनि कारण हुन सक्ने उहाँ बताउनुहुन्छ । त्यस्तै नेपालबाट जापानसम्म उडानको लागि विमान र पाइलट पनि पूर्ण रुपमा तयार रहनुपर्ने उहाँको भनाई छ । 

‘जापानसम्म उडानको लागि हाम्रा पाइलट र जहाजले धेरै पूर्व तयारी गर्नुपर्छ, त्यसको लागि निश्चित घन्टाको उडान हुनुपर्छ, हामीले ति मापदण्ड पनि पुरा गर्नुपर्छ केही समय त लाग्छ नि’, कंशाकारले भन्नुभयो । 

गएको असारको ४ गते २५ वर्षपछि नेपालले जापानसँग हवाई सम्झौता गरेको थियो, सम्झौता अनुसार नेपाली जहाजले हप्ताको १४ वटासम्म जापानमा उडान गर्न पाउँछन् । जापानमा सरकारी सम्झौता गर्न आनाकानी नगरेको जापानले अहिले युरोपियन युनियनले नेपाली जहाजलाई लगाएको प्रतिबन्धलाई संकेत गर्दै उडान अनुमति दिएको छैन ।

जापानमा धेरै नेपाली विद्यार्थी र कामदार छन् अनि कोरियामा कामदार छन्, नेपाली कामदार र विद्यार्थी अनि ति देशबाट नेपाल आउने पर्यटकलाई लक्षित गरेर निगमले उडानको तयारी गरेको थियो । तर २०७० सालको मंसिरदेखि सुरक्षा चासोको देखाउँदै युरोपले नेपाली जहाजलाई प्रतिबन्ध लगाएकै कारण अहिले जापान र कोरियाले नेपाली जहाजलाई उडान अनुमति दिन कुरा चपाउँदै आएका छन् ।

कोरियालाई निम्तो पठाइयो

नेपाल वायुसेवा निगमका जहाजलाई कोरिया उड्न दिने विषयमा सुरुमा निकै उत्साहित कुरा गरेको कोरियाले अहिले भने विभिन्न शर्त राखेको छ । कोरियाले एकपटक नेपाल भ्रमण गरेर निगमका जहाजको र यात्रु सुरक्षाबारे अध्ययन गर्ने भन्दै पत्र पठाएको छ । पत्रअनुसार नेपाल वायुसेवा निगमले यहाँको एनएसीको सेफ्टी अडिट र र्‍याम इन्सपेक्सन अध्ययनको लागि कोरियाली टोलीलाई निम्ता पठाइसकेको छ । 

कोरियाले पत्रमा पठाएका सबै गाइडलाइन पूरा गरेमा मात्रै नेपाली जहाजले कोरियामा उडान गर्न पाउनेछन् ।

नेपाल वायुसेवा निगमसँग अहिले ५ वटा अन्तर्राष्ट्रिय उडान गर्ने जहाज छन् । गएको असार र साउनमा झण्डै २४ अर्ब रुपैयाँ खर्च गरेर ल्याइएको २ सय ७४ सिट क्षमताका २ वटा वाइडबडी जहाज ल्याएको छ । सबै प्रक्रिया पूरा गरेर वाइडबडीले उडान गरिरहेका छन् । तर जापान र कोरियाले उडान अनुमति नदिँदा २ वटा ठूला जहाज कतारको दोहा र भारतीय सहरमा मात्रै खुम्चिएका छन । 

युरोपियन युनियनले नेपाली जहाजलाई प्रतिबन्ध लगाउनुको कारण यस्तो छ

नेपालले हवाई सुरक्षामा खेलबाड गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले २०७० सालको मंसिरमा नेपाललाई गम्भीर सुरक्षा चासो रहेको देशमा सूचिकृत गरेको थियो ।

आईकाओको गम्भीर सुरक्षा चासो र सन् २०१० देखि २०१२ सम्म नेपालमा भएका हवाई दुर्घटनाको संख्या र त्यसमा भएको मानवीय क्षतिलाई मध्यनजर गरेर युरोपियन युनियन ईयूले पनि आफ्नो आकाशमा नेपाली जहाज प्रवेशमा रोक लगायो । उसले सकभर नेपाल यात्रामा नजान पनि आफ्ना नागरिकलाई आग्रह गरेको थियो । 

आईकाओले भनेका ८ वटा सुरक्षा मापदण्ड पूरा गर्दै गएको जुलाई अर्थात २०७४ सालको साउनबाट नेपाल गम्भीर सुरक्षा चासो भएको देशबाट मुक्त भयो । आईकाओका उडान सुरक्षा मापदण्ड परिपालना दर नेपालले ५५ प्रतिशतबाट बढाएर ६६ प्रतिशत पुर्‍याएपछि गम्भीर सुरक्षा चासोबाट मुक्त भयो ।

विश्वभरकै हवाई क्षेत्रको नियामक निकाय मानिएको आईकाओले नै नेपाली विमान र आकाश सुरक्षित छ भनेको छ, तर युरोपियन युनियनले भने नेपाली विमानलाई प्रतिबन्ध जारी राख्नुलाई शंकाको विषयले हेरिएको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया