राजनीति गर्न अरू धेरै एजेन्डा छन्, राहत र पुनर्स्थापनामा सरकारले राजनीति गर्दैन : मन्त्री पाैडेल

 असार २०, २०७८ आइतबार १५:१२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्री विष्णु पौडेलले विपदमा परेकाको राहत, उद्धार र पुनर्स्थापनामा सरकारले राजनीति नगर्ने बताउनुभएको छ । आइतवार राष्ट्रिय सभामा राष्ट्रिय सभा सदस्यहरूले राखेको प्रश्नको जवाफ दिँदै गृह मन्त्री पौडेलले मनसुनजन्य विपदमा परेकाको उद्धार, राहत र पुनर्स्थापनामा सरकारले राजनीति नगर्ने स्पष्ट पार्नुभएको हो । 

राजनीतिका लागि अन्य कैयौँ एजेन्डा भएको भन्दै उहाँले मानवीय प्रश्नमा सरकारले राजनीति नगर्ने स्पष्ट पार्नुभएको हो । विपद् व्यवस्थापनका लागि सङ्घ, प्रदेश र पालिकाकाे सरकारबीच प्रभावकारी समन्वय भएको उहाँले बताउनुभयो । विपदमा परेकाहरूलाई राहत दिन चाहने व्यक्तिहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्ने गरी एकद्वार प्रणाली लागू गरिएको पनि मन्त्री पाैडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सङ्घीय सरकारको तर्फबाट गर्नुपर्ने प्रयास गरिरहेका छौँ र प्रादेशिक सरकार र पालिकासँगको समन्वयलाई पनि प्रभावकारी रूपले अगाडि बढाएका छौँ । राहतमा, पुनर्स्थापनामा राजनीति भयो कि भन्ने यहाँहरूले टिप्पणी गर्नुभएको छ । म स्पष्ट गर्न चाहन्छु सरकार मानवीय प्रश्नमा राजनीति गर्न चाहँदैन । राजनीति गर्नका लागि अरू धेरै एजेन्डा छन् । मानवीय प्रश्नमा, राहत, उद्धारको प्रश्नमा, पुनर्स्थापनाकाे प्रश्नमा, विपद् जोखिम न्यूनीकरण गर्ने प्रश्नमा सरकार राजनीति गर्दैन । बरु राहत, सहुलियतको नाममा विभिन्न ढङ्गले भएका सहयोग सङ्गठित गर्ने सेलिब्रेटी स्टाइलमा केही–केही ठाउँमा प्रकट हुने गरेका छन् । अब सरकारको तर्फबाट हुने राहतलाई, सहयोगलाई हामी केन्द्रिकृत र एकीकृत योजना अन्तर्गत वितरण गर्छाैँ । स्वेच्छिक रूपमा सहभागी हुन चाहनेहरूलाई पनि वान डोर सिस्टमबाट जिल्लाको सीडीओ कार्यालयमार्फत् वितरण गर्ने प्रणाली विकसित गरेका छौँ । सरकार प्यासिभ होइन एक्टिभ छ ।’

गृह मन्त्री पौडेलले वर्षाका कारण पहिरो जान सक्ने र सडक बन्द हुन सक्ने सम्भावना भएका ठाउँको नजिकमा मानवीय तथा अन्य आवश्यक स्रोत, साधनको व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले सडक सञ्चालन गर्न र मानिसको आवतजावतलाई सहज तुल्याउन सरकार केन्द्रित भएर लागेको बताउनुभयो ।

मन्त्री पाैडेलले बाढी प्रभावितको पुनस्र्थापनाका निम्ति बजेटको अभाव नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘जुन प्रकारको बाढीका कारणले, वर्षाका कारणले समस्या भएको छ, त्यसमा राहतको, पुनर्स्थापनाकाे, बाढी नियन्त्रणको प्रश्नमा बजेटको स्रोतको अभाव हुँदैन । हुन दिइँदैन भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु । कुनै पनि ठाउँको समस्या व्यवस्थापनका निम्ति, समाधानका निम्ति कुनै पनि हिसाबले हामी समस्या हुन दिँदैनौँ ।’

राष्ट्रिय सभाको अर्को बैठक सोमवा दिउँसाे १ बजेका लागि बोलाइएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया