आकाशे पुलकाे भित्तामा चित्र काेर्न पाउनु पर्ने कलाकारहरूकाे माग

 असार २०, २०७८ आइतबार १७:४६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कलाकारहरूले कोरोना महामारीमा अग्रपङ्क्तिमा खटेर काम गर्ने व्यक्तिहरूको सम्मानका लागि रत्नपार्कमा रहेकाे आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानगरपालिकामा निवेदन दिएका छन् । 

कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्ने व्यक्ति, पाइलट र सरसफाइकर्मीको सम्मानका लागि रत्नपार्कमा रहेकाे आकाशे पुलको भित्तामा बनाइएको चित्र काठमाण्डाै महानगरपालिकाले मेटेपछि कलाकारहरूले चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानगरलाई निवेदन दिएका हुन् ।   

दुजाङ्ग शेर्पा नेतृत्वको कलाकारको टोलीले आइतवार काठमाण्डाै महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीमार्फत मेयर विद्यासुन्दर शाक्यलाई निवेदन दिएका हुन् । शेर्पा नेतृत्वको कलाकार टोलीले काठमाण्डाै महानगरपालिका २८ को अनुमति लिइ त्यस ठाउँमा चित्र बनाएको दाबी गरेको छ । तर महानगरपालिकाले स्वच्छ सफा सहर निर्माणको परिकल्पना अनुसार सहरको साैन्दर्यमा आँच पुगेको भन्दै त्याे चित्र मेटाएको थियो ।

कलाकार दुजाङ्ग शेर्पाले कोरोना महामारीविरुद्ध अग्रस्थानमा रहेर काम गर्ने फ्रन्टलाइनरहरूलाई थोरै भए पनि प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ आफूहरूले वडाबाट अनुमति लिएर चित्र बनाएकाले फेरि त्यही ठाउँमा चित्र कोर्न पाउनुपर्ने माग गर्नुभयो ।

कलाकारहरूको निवेदन बुझ्दै काठमाण्डाै महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीले महानगरपालिकाभित्रको महत्त्वपूर्ण ठाउँहरूमा कुनै पनि काम गर्दा महानगरपालिकाबाट स्वीकृति र सहमति लिनुपर्ने बताउनुभयो । उहाँले वडा कार्यालयसँग सहमति लिनुअघि महानगरपालिकालाई सोधेको भए समस्या नआउने बताउनुभयो । 

महानगरपालिका आफैँले पनि केही ठाउँमा सम्पदाको चिनारी गराउने कार्यक्रम राखेको उल्लेख गर्दै कलाकारहरूले बनाएको चित्रले दिनुपर्ने सन्देश तीन हप्तामै दिइसकेको विश्लेषणसाथ महानगरपालिकाले चित्र मेटेको उहाँले बताउनुभयो ।

कलाकारहरूले ‘कलाको सहरमा कलाकै हत्या’, ‘सक्छाै सम्मान गर नत्र अपमान नगर’, ‘पुनर्स्थापना गर’, लगाएको प्ले कार्डसहित महानगरपालिका अगाडि धर्ना पनि दिएका थिए ।  

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया