वैदेशिक रोजगारीमा जाने परेनन् कोरोना विरुद्ध खोपको प्राथमिकतामा

 असार २२, २०७८ मंगलबार १४:९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईबाट घर बिदामा आउनुभएका धनु शर्माको कम्पनीले दिएको बिदा सकिएको छ । तर यूएई फर्कन पाउनुभएको छैन । धनु भन्नुहुन्छ,‘विदेश नगई घरको चुलो बल्दैन, तर अब जान पाइन्छ कि पाइँदैन थाहा छैन, सरकारले श्रमिकका लागि खोपको कुनै व्यवस्था गरिदिए हुने थियो ।’ 

यूएईबाट ४५ दिनको बिदामा घर आउनुभएका रामेछापका कुमार बुढाथोकी साढे दुई महिना बितिसक्दा पनि काममा पुनः फर्किन पाउनुभएको छैन । उहाँ नेपाल आएको हप्ता दश दिनमै  नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्‍यो । निषेधाज्ञा पनि सुरु भयो । लामो समयपछि घर फर्किनुभएका कुमारले घुम्ने, साथीभाइसँग भेटघाट गर्ने विभिन्न योजना बुन्नुभएको थिए ।

तर देशभरि जारी निषेधाज्ञाले केही गर्न दिएन । अहिले फर्किने समय भयो तर उडान बन्द हुँदा उहाँ नेपालमै अड्किनुभएको छ । फ्लाइट खुले लगत्तै जान पाइन्छ कि भनेर उहाँ रामेछापबाट काठमाण्डौमा आएर बसिरहनुभएको छ । अहिले त उडान पनि खुल्यो तर समस्या खोपको छ । 

उहाँ भन्नुहुन्छ, ‘कति ठाउँमा बुझियो तर विदेश जानेका लागि खोप छैन भन्छन्, उताबाट कम्पनीले खोप नलगाई नआउनु भनेको छ, अब भएको जागिर नै जाने भयो ।’

यूएईबाटै बिदामा आउनुभएका कैलाली टीकापुरका देवेन्द्र परियारको समस्या पनि उस्तै छ । एक महिनाको छुट्टीमा आउनुभएका देवेन्द्र तीन महिना भयो फर्कन पाउनुभएको छैन । कम्पनीले जतिसक्दो छिटो आउन भनिरहेको छ । भनेर मात्र कहाँ भयो र यूएई जान खोप अनिवार्य सर्त छ । त्यसमाथि यूएईले नेपालसँगको व्यवसायीक हवाई उडानमा समेत प्रतिबन्ध लगाएको छ । 

श्रम गन्तव्य देशको पहिलो सर्त खोप 

नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य देशहरूले कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको छन् । नेपालमा कोरोनाको दोस्रो लहर फैलिए पछि श्रम गन्तव्य देशहरू यूएई, मलेसिया, कुवेतले त नेपालबाट नयाँ कामदार लिन बन्द गरेका छन् ।

कुवेतले खोप लगाएका कामदार विस्तारै लिने भनेको छ भने साउदी, कतार, बहराइन र ओमानले भने क्वरेण्टीनमा बने सर्तमा श्रमिक लिइरहेका छन् । 

यूएईले आफूले मान्यता दिइएको खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने भनेको छ । तर अहिले त यूएईले नेपाललाई प्रतिबन्ध नै लगाएको छ । यूएईले लगाएको प्रतिबन्धका कारण जहाज नेपालबाट रित्तै युएई जानु पर्ने अवस्था छ । 

कुवेतमा पछिल्लो समय जनजीवन केही सामान्य बन्दै गएको छ । कोरोनाको भ्याक्सिन लगाएकाहरुको लागि सिनेमा मल लगायत रेस्टुरेन्टमा प्रवेश गर्न दिएको छ । सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य प्रयोग गर्न सरकारको निर्देशन छ ।

कुवेतले मे १३ देखि नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडान बाहेक सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाएको छ । यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउने छैनन् । अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको हुन पर्नेछ ।

कुवेतले फेब्रुअरीदेखि नै विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो । तर पछिल्लो समय, कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ ।

कुवेतले फाइजर, बायोएनटेक, मोर्डना, जोन्सन एण्ड जोन्सन र अक्ट्राजेनेका गरि पाँच कम्पनीका खोपलाई अनुमति दिएको छ ।  कुवेत जाने यात्रुको साथमा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट पनि अनिवार्य हुनु पर्नेछ । साथै कुवेत पुगेपछि सात दिन क्वरेण्टीनमा अनिवार्य बस्न पर्नेछ । 

कतारले भने खोप नलगाएका श्रमिकलाई पनि प्रवेश अनुमति दिएको छ । तर कतार पुगेपछि १० दिन क्वरेण्टीनमा बस्नुपर्छ ।

ओमान र बहराइनले पनि अहिले नयाँ भिसा जारी गरेका छैनन् । ओमानको आवासीय भिसा भएका श्रमिकहरू  ७ दिन क्वरेण्टीनमा बस्ने गरी जान पाउँछन् । 

वैदेशिक रोजगारीमा जाने परेनन् सरकारको प्राथमिकतामा

सरकारले जुलाई महिनाभरमा चीनबाट तीन चरणमा कोभिड–१९ विरुद्धको खोप ल्याउने बताएको छ ।  तर वैदेशिक रोजगारीमा जानेहरूलाई भने सरकारले अहिले पनि प्राथमिकतामा राखेको छैन । चीनबाट ल्याउन लागिएको भेरोसेल खोप लगाउने पहिलो प्राथमिकतामा सरकाले ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई राखेको छ । 

वैदेशिक रोजगारी जानेहरूले  आफूहरूलाई खोप उपलब्ध गराउन माग गर्दै आएको भए पनि अहिले उनीहरूको बारेमा कुनै निर्णय नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अवस्था सामान्य हुन्थ्यो भने रोजगारीको खोजीमा दैनिक सरदर एक हजार मानिस विदेश उड्थेँ । तर कोरोना महामारीले वैदेशिक रोजगारलाई थला परेको छ । गएको वर्ष गन्तव्य देशहरू नै कोरोनाबाट नराम्रोसित प्रभावित भए ।

कति नेपाली श्रमिकले रोजगारी गुमाए । खोप आएपछि खाडीको अर्थतन्त्र बिस्तारै चलायमान हुँदै छ । तर वैदेशिक रोजगार व्यवसायीले दोस्रो लहर सुरु हुनुअघि ल्याएका मागमा पनि कामदार पठाउन सकेका छैनन् । कोरोना सङ्क्रमण रोकथामका लागि गन्तव्य देशले थपेका कडा मापदण्ड र नेपालको निम्छरोपनले बैदेशिक रोजगारलाई झन् जटिल पारेको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका कार्यवाहक अध्यक्ष कमल तामाङ बताउनुहुन्छ । 

‘सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप उपलब्ध नगराए, धेरैको रोजगारी गुम्ने खतरा भएको छ, अहिले गन्तव्य देशले खोपलाई अनिवार्य गर्दै लगेका छन्,‘उहाँ भन्नुहुन्छ,‘तर नेपाल सरकारले अहिले पनि उमेर समूहलाई नै प्राथमिकतामा राखेको छ, यो दुर्भाग्यपूर्ण कुरा हो ।’

वैदेशिक रोजगारीमा जान्छु भन्ने सबैलाई खोप उपलब्ध गराउन नसके पनि श्रम स्वीकृति लिइसकेका श्रमिकलाई भने खोप उपलब्ध गराउनु पर्ने वैदेशिक रोजगार व्यवसायीको माग छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया