यूएईमा कार्यरत नेपालीले पठाए ५९ हजार थान पीसीआर कीट

 असार २३, २०७८ बुधबार १२:१८:३६ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत नेपालीले ५९ हजार थान पीसीआर किट नेपाल पठाएका छन् । यूएईमा कार्यरत नेपाली समुदायले सहयोग रकम सङ्कलन गरेर उठाएको रकमले ५९ हजार थान पीसीआर कीट खरिद गरी नेपाल पठाएका हुन् ।

नेपाल एयरलाइन्सको वाइडबडीमार्फत बुधबार बिहान सामाग्री नेपाल पठाइएको यूएई स्थित नेपाली दूतावासले जनाएको छ । 

नेपाली समुदायले पठाएको पीसीआर किट सामाग्री बुधवार बिहान १० बजे काठमाण्डौ पुगेको छ । यूएईबाट पठाएको स्वास्थ्य सामाग्री पीसीआर किट स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले विमानस्थलमै पुगेर बुझ्नुभएको छ ।  

नेपाल पठाएको ५९ हजार पीसीआर किट सातै प्रदेशमा समान रूपमा वितरण गरिने जनाइएको छ । स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशमा समान ८ हजार ४ सय २८ थान कीटका दरले सहयोग वितरण गरिने भएको छ ।

कोरोना विरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्न यूएईमा  कार्यरत नेपालीले झण्डै ४७ लाख रुपैयाँ रकम सङ्कलन गरी पीसीआर किट किनेका हुन् । 

यहाँ कार्यरत नेपालीहरूले सम्पूर्ण संघसंस्थाको सहभागिता तथा नेपाली दूतावास अबुधाबीको संरक्षणमा ‘मातृभूमि सहयोग अभियान’ सञ्चालन गरेर रकम सङ्कलन गरेका थिए ।

पीसीआर किट आस्तर ग्रुपको आस्तर फार्मेसी मार्फत खरिद गरेको छ । कम्पनीले प्रति किट २ दिर्हाम ४५ पैसामा पीसीआर परीक्षण किट उपलब्ध गराएको छ । 

खरिद गरिएको किट नेपालसम्म पुर्‍याउन भने नेपाल सरकारले जिम्मा लिएको युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभयो । दूतावासले परराष्ट्र, स्वास्थ्य मन्त्रालय तथा नेपाल एयरलाइन्ससँग समन्वय गरेर बुधवारको विशेष उडानमार्फत किट नेपाल पठाइएको हो ।

राजदूत ढकालले यूएईमा कार्यरत नेपालीले आफ्नो गाँस कटाएर रकम सङ्कलन गरी आफ्नो देशलाई सङ्कटका बेला सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो ।

राहत सङ्कलन अभियानमा यूएईमा सक्रिय वैचारिक सङ्गठन, नेपाल एसोसिएसन, नेपालीज बिजनेस काउन्सिल, एनआरएनए, नेपाली समाज यूएई तथा यसमा आबद्ध सम्पूर्ण जिल्ला, गाउँ नगर सङ्घसंस्था, आदिवासी जनजाति महासङ्घ लगायत सयभन्दा बढी नेपाली सङ्घसंस्थाहरू जुटेका थिए । 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया