रुकुम पूर्वमा तेस्रो 'गुरिल्ला म्याराथन' सम्पन्न

 असार २३, २०७८ बुधबार १५:१२:९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिकामा आयोजित तेस्रो गुरिल्ला म्याराथन सम्पन्न भएको छ । गुरिल्ला म्याराथन मङ्गलवार बेलुका सम्पन्न भएको हो ।  

गुरिल्ला अल्ट्रा म्याराथनको पुरुषतर्फ भूमे गाउँपालिका २ का हिमाल बुढा मगर प्रथम हुनुभएको छ । उहाँ एक सय सात प्रतियोगीलाई पछि पार्दै प्रथम हुनुभएको हो । ५२ किलोमिटर म्याराथन मगरले पाँच घण्टा ५३ मिनेट २६ सेकेन्डमा पूरा गर्नुभएको आयोजक युवा विकास केन्द्रका अध्यक्ष सुनिल रोकाले जानकारी दिनुभयो । 

प्रतियोगितामा भूमे गाउँपालिका ६ कै करमान बुढा मगर दोस्रो हुनु भएको छ । करमानले ६ घण्टा १९ मिनेट ३९ सेकेन्डमा निर्धारित दुरी पार गर्नुभएको थियो । ६ घण्टा २२ मिनेट ४३ सेकेन्डमा निर्धारित दुरी पार गर्नुभएका रुकुम पश्चिम सानीभेरी गाउँपालिका ३ का अर्जुन बस्नेत तेस्रो र सानीभेरी गाउँपालिका ३ कै भुवन ओलीले सान्त्वना स्थान प्राप्त गर्नुभएको आयोजकले जनाएको छ । 

म्याराथनको महिलातर्फ प्युठानकी हुमी बुढा मगर प्रथम हुनुभएको छ । हुमीले आठ घण्टा ३२ मिनेट ४७ सेकेन्डमा ५२ किलोमिटरको दुरी पार गर्नुभएको हो । भूमे गाउँपालिका ४ की रुजिना बुढा मगर आठ घण्टा ३७ मिनेटमा निर्धारित दुरी पार गर्दै दोस्रो र ३ नम्बर वडा दोमैकी निर्मला पुन आठ घण्टा ४० मिनेटमा निर्धारित दुरी पार तेस्रो हुनुभएको छ । भूमे गाउँपालिका ६ की शान्ति रोका मगरले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । आयोजकका अनुसार महिलातर्फ २१ जनाले सहभागिता जनाएका थिए । 

महिला र पुरुष दुवै तर्फका प्रथमले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार र सान्त्वना स्थान प्राप्त गर्नेले १५ हजार नगद रुपैयाँ प्राप्त गरेका छन् । दुवैतर्फ दशौँ स्थानसम्म आएकालाई प्रमाण पत्र तथा मेडल दिइएको आयोजक संस्थाले जनाएको छ । 

भूमे गाउँपालिकाको आर्थिक सहयोगमा भूमे युवा विकास केन्द्रले प्रतियोगिता आयोजना गरेको गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताउनुभयो । खेल क्षेत्रको विकास र युद्ध पर्यटन प्रवद्र्धनका लागि म्याराथन आयोजना गरेको युवा विकास केन्द्रका अध्यक्ष सुनिल रोका मगरले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया