खानेपानीको पाइपमा विष हाल्ने व्यक्ति पक्राउ

 भदौ १३, २०७५ बुधबार १७:४१:३२ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – खानेपानीको पाइपमा विष हाल्ने सिद्धिचरण नगरपालिका–२ ठूलाछापका  सिताराम सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । 

छरछरे सितलादेवी खानेपानी आयोजनाको पाइपमा विष हालेर उपभोक्ताको हत्या गर्न खोजेको अभियोगमा ३४ वर्षीय सार्कीलाई घरबाटै पक्राउ गरिएको हो । 

स्थानीय उपभोक्ताको उजुरीका आधारमा अनुसन्धान गर्दा खानेपानीको पाइपमा विष हालेको र पाइपबाट व्यक्तिका गोठमा राखिएको प्लाष्टिक ट्यांकीसम्म विष पुगेको पुष्टि भएपछि सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताउनुभयो । 

अनुसन्धानबाट विष हालेको पुष्टि भएको उहाँले जनाउनुभयो । 

आरोपित सार्कीले एकजना छिमेकीले पालेका ब्रोइलर कुखुरा मार्न विष हालेको स्वीकार गरेको प्रहरीको भनाइ छ । 

खानेपानीका उपभोक्ताहरुले भने विष हालेर समुदायका विभिन्न व्यक्तिको ज्यान लिन खोजेकाले ज्यान मार्ने उद्योग अन्र्तगत कारवाही हुनुपर्ने माग गरेका छन् । 
समुदायबाट आउने जाहेरी हेरेर मुद्दा अघि बढाइने प्रहरी नायव उपरिक्षक शर्माले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया