धान, फलफूलका थप २४ जात सूचीकृतका लागि सिफारिस

 साउन १४, २०७८ बिहिबार १४:५१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धान र फलफूलका थप २४ जात सूचीकृतका लागि सिफारिस भएका छन् । उन्मोचन विधिबाट तयार भएका धानका दुई वटा, चार वटा वर्णशङ्कर र पाँच वटा रैथाने गरी ११ जात राष्ट्रिय बिउ बिजन समितिले सूचीकृतका लागि सरकारलाई सिफारिस गरेको हो । 

त्यस्तै लिचीका ६, किवीका चार र आँपका तीन वटा गरी १३ वटा जात सिफारिस गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले उन्मोचन गरेको धानको खुमल १२ र खुमल १४ जात दर्ताका लागि सिफारिस भएको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बाली अधिकृत प्रकाश आचार्यले जानकारी दिनुभयो । 

त्यस्तै विदेशमा उत्पादन भएका धानका चार वटा वर्णशङ्कर मध्ये प्याक–८७४४ प्लस, एडीभी ८५७७, एमआर ८३३३ र एनपीएच–५६७ नार्कले सूचीकृतका लागि सिफारिस गरेको छ । समितिले गण्डकी आसपासका धानका रैथाने जात एक्ले, रातो अनदी, कालो झिनुवा, बयर्नी र पहेँलेलाई पनि सिफारिस गरेको छ ।

यस्तै लिचीका साही, मुज्जफरपुर, कलकत्तिया, रोजसेन्टेड, लेट सिडलेस र अर्ली सिडलेस गरी ६ जात र किवीका एर्वट, हेवार्ड, ब्रुनो र एलिसन चार जात सिफारिस गरिएको छ । आँपका आम्रपाली, माल्दा र दशहरी जात सूचीकृतका लागि सिफारिस भएका छन् । 

पहिलेदेखि प्रयोगमा आइरहेका कतिपय जात सूचीकरण नहुँदा बिउ–बिरुवाको बिक्री/वितरण तथा बीमा नहुने समस्या रहेकोमा सरकारको सिफारिसपछि किसान तथा बिउ कम्पनीलाई कारोबार र उत्पादन गर्न सहज हुने केन्द्रका प्रमुख एवम् राष्ट्रिय बिउ बिजन समितिका सदस्य सचिव बेनुप्रसाद प्रसाईंले बताउनुभयो । सिफारिस भएका जात मन्त्रिपरिषद्को निर्णयका आधारमा राजपत्रमा प्रकाशित भएपछि आधिकारिक रूपमा प्रयोगमा आउने छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया