वैंशमा सुत्केरी र बुढ्यौलीमा बिरामी बन्न मन लाग्ने समाजवादी बजेट !

 जेठ १९, २०७५ शनिबार ८:१९:५९ | मिलन तिमिल्सिना

राजनीति नजान्नेले मान्छेलाई मख्ख बनाउन पनि जान्दैनन् भन्ने तथ्य यसपटक अर्थमन्त्री खतिवडाले छर्लंग पारिदिए । हुन त उनी केही गर्दै नगरी त्यसै मन्त्री बनेका ।

न चुनावको बेला घरदैलो पुग्नुपर्यो, न मतदातालाई फकाउनुपर्यो । मतदातालाई फकाएर भोट तान्ने बेला कति धेरै झुट बोल्नुपर्छ भन्ने उनलाई के थाहा ? झुट बोल्नै नपरेर अर्थमन्त्री भएका उनले मान्छेलाई मख्ख पार्ने बजेट नै ल्याउन सकेनन् । 

प्रधानमन्त्री भोलिदेखि नै रेल कुद्ला झैं गरी भाषण दोहोर्याइरहन्छन् । मन्त्रीहरु आकाशको तारा खसाल्ने कुरा गरेर थाकेका छैनन् । चुड्कीको भरमा देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने गफ चुटेका चुट्यै छन् । ५ वर्ष त के ५ दिनमै देशमा उथलपुथल लेराउँला झैं गरी बोलेको बोल्यै गर्छन् । तर तिनै प्रधानमन्त्रीका अर्थमन्त्री एकसुको पनि गफ दिंदैनन्, पैसा खर्च गर्नै लोभ गर्छन् । 

नागरिक गफ सुनेरै अघाउँछन्, गफ सुनेरै धनी र सुखी हुन्छन् भन्ने उनलाई थाहा पत्तो नै छैन । पहिले पहिलेका अर्थमन्त्रीले कुरा सुन्दा नै अघाउने गरी, नागरिकलाई जुरुकजुरुक बनाउने गरी बजेट भाषण गर्थे । तर अहिलेका अर्थमन्त्रीले सुन्नै मन नलाग्ने, धितै नमर्ने निरस र अल्छीलाग्दो बजेट भाषण गरे । 

भोलि पर्सिदेखि नै रेल कुद्ने गरी बजेट छुट्याएको छु भनेनन् । रेलको सम्भाव्यता अध्ययनको लागि मात्र बजेट छुट्याएको बताए । मान्छेलाई रेल चल्छ चल्दैन भन्ने सम्भाव्यता अध्ययनको कुरा हैन, जसरी पनि रेल चल्छ भन्ने कुरा सुन्ने बानी पर्या छ । सम्भाव्यता अध्ययन नगरी एक महिनाभित्र रेच चल्छ भन्नुपथ्र्यो । अर्थमन्त्रीले त्यसो भनेनन् ।

सबैभन्दा ठूलो कुरा त वैंशमा सुत्केरी र बुढ्यौलीमा बिरामी भैरहन मन लाग्ने बजेट ल्याएका छन् अर्थमन्त्रीले । बजेटले बुढाबुढीको भत्ता नबढाएर सित्तैमा ओखतीमुलो गर्ने कुरा गरेको छ । बुढाबुढीलाई झुक्याएको छ ।

उबेला भोट माग्दा कम्युनिष्टका नेताहरुले बृद्धभत्ता दोब्बर पार्छौं भनेर बुढाबुढीलाई मख्ख बनाए । ओली कम्रेडले त हातमै लगेर ५ हजार दिन्छु भने । होला त नि भनेर बुढाबुढीले ड्याम कि ड्याम सूर्य र गोलाकारभित्रको हँसिया हथौडामा छाप लगाए । तर त्यही छाप पाएर सिंहदरबार छिरेका कम्युनिष्टहरुले बुढाबुढीलाई सुको पैसो पनि बढाएनन् । बिरामी भयौ भने औषधी उपचार गर्न स्वास्थ्य बिमा गरिदिन्छौं भनेर टारे ।

भत्ता दोब्बर होला भनेर हात थापेर बसेका बुढाबुढीलाई जाबो स्वास्थ्य बिमाले के गर्नु ! हातमा पैसा भए पो मज्जा हुन्छ । हातमा पैसा भएजस्तो मज्जा लिन त अब बिरामी नै हुनुपर्ने भयो ! त्यसैले यो बजेटले बिरामी नहुने बुढाबुढीलाई पनि बिरामी नै हुनुपर्ने बाध्यता बनाएको छ । अनि बिरामी भएर अस्पताल नजाने बुढाबुढीलाई पनि समयमै औषधी उपचार गरिदिएर आयु थपिदिने भएको छ ।

बुढाबुढीको त आयु थपिने भयो नै । बच्चा जन्माउने क्रम पनि बढ्ने भएको छ । सरकारी कर्मचारीको तलब नबढाएको सरकारले सुत्केरीलाई दोब्बर भत्ता दिने घोषणा गरेको छ । दोब्बर भत्ता थाप्न पाइने लोभले पनि अब धेरैलाई सुत्केरी भैरहन मन लाग्ने भयो । जनसंख्या नियन्त्रण गर्नुपर्ने बेला जनसंख्या बढाउन प्रेरित गरेर अर्थमन्त्रीले प्रतिगामी बजेट ल्याएका छन् ।

अर्को कुरा सुखी नेपाली बनाउने सरकारको लक्ष्य पूरा गर्न बजेटले नै रोकिदिएको छ । सुखी हुन पैसा धेरै कमाउनुपर्छ । पैसा धेरै कमाउन कि त राम्रो ठाउँमा ठूलो पदमा काम गर्नुपर्छ, कि त कर छलेर बैंक खाता टन्न बनाउनुपर्छ । तर अर्थमन्त्रीले धेरै कमाउनेको आयकर बढाइदिए । कर छल्न नपाइने गरी कडाई गरे ।

सबैको बैंक खाता हेर्छु पो भनिरहेका छन् । अर्थमन्त्रीले नै बैंक खाता हेर्न थाले भने नागरिकले खातामा धेरै पैसा राख्दैनन् । आयकर बढ्ने हुँदा तलब धेरै हुने जागिर खान डराउँछन् । धेरै पढेको मान्छे अब पैसा कमाउन डराउने भए । पैसा कमाउन डराउन थाले भने सबै नेपाली कसरी धनी बन्ने ? कसरी सुखी हुने ?

अर्थमन्त्रीले युवाहरुलाई पनि हेप्न खोजेका छन् । अब देशभित्रै काम गर्ने वातावरण बनाएर विदेश जान नदिने षडयन्त्र गर्दैछन् । विदेश जानु र फर्किएर आउनुको शान नै बेग्लै हुन्छ । विदेशमा जतिसुकै दुःख गरेपनि कसैले देख्दैन । झिल्के बनेर गएको र सुटकेश बोकेर फर्केको मात्र देख्छन् । दुई दिनको जिन्दगी अरुलाई नै देखाउन त हो नि ! तर यस्तो शान देखाउन नपाउने गरी अर्थमन्त्रीले बजेट ल्याएका छन् ।

विद्यार्थीको सर्टिफिकेटलाई झन् बढी अपमान गरिएको छ । स्कुलदेखि उच्च शिक्षा पढ्दासम्म बीसौं लाख खर्च भएको हुन्छ । तर अर्थमन्त्रीले सर्टिफिकेट देखाएर जम्मा ७ लाख रुपैयाँसम्मको ऋण दिने कुरा गरेका छन् । वर्षौंसम्म टुपी कसेर, घुँडा धसेर पढेर पाएको सर्टिफिकेटको मूल्य जम्मा ७ लाख रुपैयाँ मात्र कसरी हुन्छ ? अर्थमन्त्रीले हिसाब बुझेनन् । 

हिसाब नबुझ्ने विज्ञ अर्थमन्त्रीले चुरोट र रक्सीमा पनि नागरिकलाई कर लगाइदिए । रक्सी र चुरोट नखाउ भन्नुपर्नेमा कर लगाउने रे ! कर लगाएर हुन्छ ? जबर्जस्ती गरेर हुन्छ । रक्सी र चुरोटमा सरकारले कर लगायो भनेर नपिउने र नखानेले पनि खान थाले भने के हुन्छ ?

त्यसैले यो बजेट सरासर प्रतिगामी छ । नागरिकको हित र चाहना विपरीत छ । समृद्ध नेपाल र सुखी नेपालीको नाराभन्दा उल्टो छ । सबैभन्दा चिन्ता त कांग्रेसलाई पो परेको छ ।

कांग्रेसका प्रवक्तालाई त बुढाबुढीले फोनै गरे रे । प्रधानमन्त्रीले पहिले बोलेअनुसार वृद्धभत्ता बढाएनन् भनेर दुखेसो पोखे रे । यसको मतलब अहिलेसम्म सरकार र नेकपाका नेताहरुको भर परेकाहरुले अब कांग्रेसलाई विश्वास गर्न थाल्ने भए । बजेटकै कारण अर्कोपटक कांग्रेसको बहुमत पुग्ने भो । बजेटले कांग्रेसलाई पो फाइदा गर्ने भयो । 

आफ्नै पार्टी र सरकारलाई घाटा लाग्ने, तर विपक्षीलाई फाइदा गर्ने बजेट ल्याएर अर्थमन्त्रीले प्रधानमन्त्रीलाई भड्खालोमा जाक्ने भए । आफ्नै पार्टीलाई धोका दिने भए । समृद्ध नेपाल र सुखी नेपालीको सपना चकनाचुर बनाउने भए । अर्थमन्त्रीको विज्ञता देखेर हामीलाई त यति धेरै चिन्ता लागेको छ, उनलाई अर्थमन्त्री बनाउने प्रधानमन्त्रीलाई झन् कति धेरै टाउको दुखेको होला !

अन्तिम अपडेट: चैत २८, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया