आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्दा निरक्षरले पनि हाई–स्कूल पढेको 'सर्टिफिकेट' पाउँछ

 साउन २४, २०७८ आइतबार १७:९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यार्थीको आन्तरिक मूल्याङ्कनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रूप ल्याउने बताउनुभएको छ ।एसईईको नतिजापछि आइतवार कुराकानी गर्दै अध्यक्ष पौडेलले आन्तरिक मूल्याङ्कनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाई–स्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताउनुभएको हो ।

उहाँले शिक्षकलाई सुधारिएका विषयहरूको तालिम नदिनुले पनि उचित किसिमको मूल्याङ्कन हुन नसक्ने बताउनुभयो । विद्यार्थीहरूमा पनि पढे पनि पास र नपढे पनि पास भन्ने पारिपाटीले भविष्यमा देशलाई ठूलो क्षति हुने उहाँले बताउनुभयो । शिक्षक र विद्यार्थीको भेट नै नभएको अवस्थामा नम्बर दिनुपर्ने बाध्यता रहेको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले परीक्षा बोर्डले को–कस्तो विद्यार्थी भनेर नचिनेको दुई वर्ष भइसकेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो किसिमको निर्णय पोलिटिकल लिडरशिपले गर्ने हो भने निरक्षर मानिसले हाई–स्कूल पढेको सर्टिफिकेट प्राप्त गर्छ, कतै पनि कन्ट्रोल मेकानिजम सिस्टम विकास गरिएन अवस्था डरलाग्दो छ, तल्लो लेभलमा क्लास अपग्रेड गर्ने पोलिसी लिएर आउने, त्यहाँ टिचरलाई तालिम नदिने, लिभरल प्रमोशन सिस्टम लागू गरिएको छ, त्यो कसरी गर्ने शिक्षकलाई थाहै छैन, नजानेपछि भने जसरी पठनपाठन हुँदैन, सबैलाई पास गर्ने भनेकाले पास गरेको भन्छ, पढे पनि पास र नपढे पनि पास गर्दै ऊ हाई–स्कूलसम्म पुग्छ ।’

उहाँले आन्तरिक मूल्याङ्कनबाट गरिएको नतिजा प्रकाशनले बोर्डलाई अपजस मात्र आउने बताउनुभयो । उहाँले आन्तरिक मूल्याङ्कनले दिने नतिजाले अपजस भन्दा पनि धेरै विकराल हुने समेत बताउनुभयो । यसले देशको शिक्षा प्रणाली र देशकाे विकास प्रक्रियामा गम्भीर असर पार्ने अध्यक्ष पाैडेलले बताउनुभयो । यसको पहिलो जिम्मेवारी देश भएकाले राजनैतिक नेतृत्वले बेलैमा नसोच्ने हो भने यसबाट देश र समाजलाई ठूलो क्षति हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।  

बाेर्डका अध्यक्ष पाैडेलले भन्नुभयो, ‘बोर्डले अपजस बोक्दैमा राज्यको अवस्थामा परिवर्तन आउने भए त अपजस लिनु हुन्थ्यो तर यो यथार्थ हो कि त्यसले दिने रिजल्ट अपजसभन्दा धेरै विकराल छ, त्यो विकराल रिजल्ट देशले बेहाेर्नुपर्छ, तत्काललाई त बोर्डले अपजस लेला तर त्याे रिजल्टको भागीदार देश हुन्छ, देशको शिक्षा प्रणाली हुन्छ, विकास प्रक्रियामा हुन्छ, यो डरलाग्दो छ, पोलिटिकल लिडरशिपहरूले यो बारेमा बेलैमा सोच्नुभएन भने ठूलो क्षति हुन्छ ।’

त्यसैगरी उहाँले कक्षा १२ को परीक्षा बोर्डले गर्न चाहेर पनि सरकारको निर्देशनका कारण हुन नसकेको बताउनुभयो । अध्यक्ष पौडेलले देशैभरि परीक्षा सञ्चालन हुने केन्द्रहरूमा स्वास्थ्य सावधानी र थप मापदण्ड बनाएर परीक्षा सञ्चालन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । कोरोना सङ्क्रमणको जोखिमको कारणले यसअघि कक्षा १२ को परीक्षा दुई–दुई पटक रोकिएको उहाँले बताउनुभयो । बोर्डले परीक्षाका लागि सम्पूर्ण तयारी गरेको भए पनि सीसीएमसीले मन्त्रालयमार्फत परीक्षा अहिलेका लागि स्थगित गर्ने निर्देशन दिएपछि परीक्षा रोकिएको अध्यक्ष पाैडेलले जनाउनुभयो ।

यस वर्ष कक्षा १२ को परीक्षा जेठमा हुने भनिएको परीक्षा आउँदो साउन ३१ गतेदेखि हुने भनी तोकिएको थियो । गएकाे वर्ष पनि कोरोना भाइरसका कारण कक्षा १२ को परीक्षा मङ्सिरमा सञ्चालन भएको थियो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

1 Comments

  • Megha Bhujel

    Aug. 9, 2021, 5:14 p.m.

    सरकाे विचारमा म सहमत छु।

  •  0 Reply

तपाईको प्रतिक्रिया