ललितपुर महानगरपालिकाको पहिलो प्राथमिकतामा सम्पदा संरक्षण

 साउन २६, २०७८ मंगलबार ११:३३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुर महानगरपालिकाले प्राथमिकताका साथ सम्पदा संरक्षण र मर्मत गरिरहेको छ।

नियमित मर्मत गर्नुपर्ने सम्पदा र भूकम्पले भत्किएका मठमन्दिर, विहार, बहाल, सत्तल, पाटी, पोखरीमध्ये धेरैजसो निर्माण सम्पन्न भइसकेका छन् । केही सम्पदा निर्माणाधीन अवस्थामा रहेको ललितपुर महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले निर्माण भएका सबै सम्पदा पुरातात्त्विक शैलीमै पुनर्निर्माण गरिएकाे जानकारी दिनु भएकाे छ ।

ललितपुर महानगरपालिका–७ मा रहेकाे अमृतवर्ण महाविहार जीर्णोद्धार सकिएकाे छ । यस्तै वडा नम्बर २० को पूर्णचण्डी पाटी विहार, सतफल्चा पाटी जीर्णोद्धार, वडा नम्बर ६ को नारायण मन्दिर, वडा नम्बर २१ को कटुसा पुनर्निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।

पाटनको देगु तलेजु, भीमकाय भीमसेन मन्दिर, बुङ्गमतीको रातो मच्छिन्द्रनाथको शिखर शैलीको मन्दिरकाे पुनर्निर्माण कार्य झण्डै अन्तिम चरणमा पुगेको छ । त्यस्तै, पिम्वाल जगमदु पोखरी, पाटी पुनर्निर्माण, सौगल महादेव मन्दिर, यशोधरा महाविहार करुणामय मन्दिर, पुल्चोक ढुङ्गेधारा मर्मत, जगनाथ मन्दिर, सिकुचा फल्चा, अशोक चैत्य मर्मत, पशुपति मन्दिर जीर्णोद्धार, सैथु गणेश मन्दिर, हरिशङ्कर मन्दिर, तापाहिटी पाटी, चोछे लाछि पाटी, छ्याबहाल पाटी पुनर्निर्माण गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

ललितपुर महानगरपालिकाले महानगरको काम व्यवस्थित र मर्यादित गर्ने उद्देश्यले ‘एक्सन टिम’ बनाएर परिचालन गरिएको छ । महानगरपालिकाका कामलाई व्यवस्थित सहर निर्माण गर्न सहयोग गर्ने गरी ‘एक्सन टिम’ बनाइएको हो। नगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा १५ जना नगर प्रहरीको ‘एक्सन टिम’ निर्माण गरिएको हो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया