थुनिएको राहुघाट नदी बग्न थाल्यो, जोखिम छैन तर सुरक्षा सतर्कता अपनाउनुपर्छ : प्रशासन

 भदौ १०, २०७८ बिहिबार १६:४४:१० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – लगातारको वर्षाका कारण पहिरो र ढुङ्गा खसेर थुनिएको म्याग्दीको राहुघाट नदी 'ओभरफ्लो' भएर बग्न थालेको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका ६ र ७ नम्बर वडाको सिमानामा पर्ने गौंडामुनि भन्ने ठाउँमा ढुङ्गा र पहिरो खसेर बिहीवार बिहानैदेखि थुनिएको राहुघाट नदी दिउँसोदेखि आफैँ 'ओभरफ्लो' भएर बग्न सुरु गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।   

राहुघाट नदीभन्दा माथिबाट एउटा ठूलो ढुङ्गा र पहिरो खसेपछि झन्डै एक किलोमिटर लम्बाइ, १५ मिटर चौडाइ र १५ मिटर गहिराइको तलाउ बनेको भए पनि पानी 'ओभरफ्लो' भएर बग्न थालेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो । उहाँले राहुघाट नदी आसपास नजिकै मानव बस्ती नभएको र तलाउबाट पानी बग्न थालेपछि जोखिम पनि कम रहेको बताउनुभयो । 

अहिले पनि सानो स्वरूपमा पहिरो खसिरहेकाले वर्षा भइरहेको खण्डमा तटीय क्षेत्रमा पुर्‍याउन सक्ने क्षतिलाई मध्यनजर गरी सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । उहाँले थुनिएको राहुघाट नदी एकै पटक खोलिएको खण्डमा जिल्लाको गलेश्वर बजार, सदरमुकाम बेनीबजारसहित तटीय क्षेत्र जोखिममा पर्ने भएकाले पर्वतका सीडीओसँग पनि समन्वय गरिएको बताउनुभयो । 

नदी थुनिएको ठाउँ वरपरको क्षेत्र जलमग्न भएको स्थानीयवासीले बताएका छन् । वर्षा भइरहेको अवस्थामा थुनिएको राहुघाट नदीले असर पुर्‍याउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ । थुनिएको राहुघाट नदीको अवस्थाबारे बुझ्न निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।   

राहुघाट नदी पवित्र कालीगण्डकी नदीको सहायक नदी हो । म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर र रघुगंगा गाउँपालिका ३ राहुघाट क्षेत्रमा आएर राहुघाट नदी कालीगण्डकीमा मिसिन्छ । राहुघाटको तटीय क्षेत्रमा ४८ दशमलव ५ मेगावाट क्षमताको माथिल्लाे राहुघाट जलविद्युत् आयोजनाको विद्युत् गृह तथा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माणाधीन अवस्थामा रहेको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया