म्याग्दीमा बाढी–पहिरोबाट ६० जना विस्थापित

 भदौ १४, २०७८ सोमबार २०:२४:४० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – निरन्तरको वर्षासँगै बाढी र पहिरोमा परेर म्याग्दीको विभिन्न ठाउँमा तीन जना घाइते भएका छन् भने ६० जना विस्थापित भएका छन् । हिजो आइतवार राति कालीगण्डकी नदीको बाढीले सदरमुकाम बेनीबजारमा रहेको कालीपुलमा घर बगाउँदा तीन जना घाइते भएका हुन् । 

घाइते हुनेमा कालीपुल बस्दै आएका गोविन्दबहादुर बुढा, रेखा नेपाल र सन्तु पूर्जा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

वर्षाका कारण सडकभन्दा माथिबाट ठूलो ढिस्कोसहितको पहिरो कालीगण्डकी नदीमा खसेर बाढी बस्तीतर्फ पसेपछि कालीपुलका ६ वटा घरमा क्षति पुगेको छ । बाढीका कारण कालीपुलका राजेन्द्र गुरुङ, क्षेत्रबहादुर गौचन, सुरेश राम्जाली, ताराप्रसाद पुन, युमाया पुन र धर्मदत्त थापाको टिनको छाप्रो (टहरा) मा क्षति पुगेको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो । 

बाढीका कारण विस्थापित परिवारलाई अहिले कालीपुलमा रहेको कबर्डहलमा सारिएको प्रहरीले जनाएको छ । 

यसैबीच वर्षाकै कारण पहिरो खसेर बन्द भएको पश्चिम म्याग्दी हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक सञ्चालनमा आएको छ । यस खण्डको बेनी नगरपालिका ४ घुमाउने भिर तथा मालिका ६ दरबाङको बाङ्गे पहिरो भन्ने ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको प्रहरीले जनाएको छ । 

उत्तरी म्याग्दी हुँदै मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक भने वर्षाका कारण पहिरो खसेर बन्द भएको छ । बेनी–बाग्लुङ सडक खण्ड पनि भसभसे र रानीवनको पहिरोले बन्द भएको प्रहरीको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया