पहिरो पन्छाएपछि पाँच दिनदेखि बन्द बेनी–जोमसोम सडक दुईतर्फी खुल्यो

 भदौ १७, २०७८ बिहिबार २०:३२:३५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक आज बिहीवारदेखि पुनः सञ्चालनमा आएको छ । निरन्तरको वर्षासँगै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईँठेमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी खुलेको हो । 

वर्षाका कारण पहिरो खसेर गएको आइतवारदेखि बन्द भएको बेनी–जोमसोम सडक पहिरो पन्छाएपछि आजदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना स्तरोन्नतिको जिम्मा पाएको शर्मा गजुरमुखी जेभीको जेसिभी मेशिन मगाएर पहिरो पन्छाइएको हो । 

बेनी–जोमसोम सडक खण्डमा कहिले वर्षाका कारण पहिरो र कहिले सुख्खा पहिरोले अवरोध पुर्‍याउँदा समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो । 

७६ किलोमिटर दुरी रहेको बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोला, २ बैंसरी, ३ राहुघाट, अन्नपूर्ण २ नैनीबगर, ३ दानाको गुईँठे, जलथले, रुप्सेखोला, म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीर तथा घोप्टेभीर क्षेत्र पहिरोको उच्च जोखिममा पर्दछन् ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया