मलेसियामा अवैधानिक भएर बस्नुभएको छ भने सावधान ! पक्राउ परिएला

 भदौ १६, २०७५ शनिबार १४:१३:५५ | उज्यालो सहकर्मी

काठमाडौं – मलेसियाले अवैधानिक कामदारविरुद्ध देशव्यापी रुपमा धरपकड गर्ने भएको छ ।

अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कनका लागि सञ्चालन भएको ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ नाम दिइएको आममाफी कार्यक्रम सकिएपछि मलेसियाले अवैधानिक कामदारविरुद्ध धरपकड गर्ने भएको हो । यसबाट अवैधानिक रुपमा बसिरहेका नेपाली कामदार प्रभावित हुनेछन् ।

आममाफी कार्यक्रममा सहभागी नभएका अवैधानिक कामदारविरुद्ध देशव्यापी धरपडक अभियान चलाउने मलेसियाको अध्यागमन विभागका निर्देशक दातुक मुस्ताफिर अलीलाई उद्धृत गर्दै द स्टारले जनाएको छ । 

गएको फेबु्रअरी १५ अर्थात फागुन ३ गतेदेखि मलेसियाले अवैधानिक रुपमा रहेका विदेशी कामदारलाई स्वदेश फर्किनका लागि ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ सञ्चालन गरेको थियो । यो अवधि गएको बिहीबार सकिएको छ । 

मलेसियाले यसअघि पनि अवैधानिक रुपमा रहेका विदेशी कामदारलाई वैधानिक प्रक्रियामा दर्ता भई काम गर्न पाउने अवसरसहितको ‘रिहाइरिङ’ कार्यक्रम सञ्चालन गरेको थियो ।

वैधानिकताका लागि दर्ता भएका कामदारलाई ‘इन्फोर्समेन्ट कार्ड’ निःशुल्क वितरण गरी थप वैधानिकताको प्रक्रिया अपनाउन त्यस्तो कार्यक्रम ल्याइएको थियो ।

तर झन्झटिलो प्रक्रियाका कारण धेरै विदेशी कामदार वैधानिक हुनबाट वञ्चित भएका छन् । यसरी वैधानिक हुने कार्यक्रम पनि गएको जुन महिनामै सकिएको छ । 
मलेसियाले अवैधानिक कामदारलाई वैधानिकता र आममाफी कार्यक्रम पटकपटक सञ्चालन गरिसकेको छ ।

‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ नाम दिइएको आममाफीमा अवैधानिक विदेशी कामदारले तीन सय रिंगिट जरिवाना र स्वदेश फर्किने पास लिन एकसय रिंगिट रुपैयाँ तिरे पुग्थ्यो । 

तर यो समयमा स्वदेश नफर्किएका विदेशी कामदारलाई मलेसियाले पक्रिने जनाएको छ । आफ्नो देशलाई अवैधानिक विदेशी कामदारमुक्त बनाउने उदेश्य लिएको निर्देशक मुस्ताफर अलीले बताएका छन् । त्यसैअनुसार आममाफी सकिएलगत्तै धरपकड सुरु गरिएको उनको भनाई छ । 

सन् २०१४ देखि आममाफीको उपयोग गरी ८ लाख ६७ हजार ३ सय ३६ जना विदेशी कामदार स्वदेश फर्किएको मलेसियाली अनलाइन द स्टारमा उल्लेख छ । त्यसमध्येमा कति नेपाली फर्किए भन्ने तथ्याङ्क छैन ।

पछिल्लो समय दिएको आममाफीको उपयोग गरी १२ हजार ८ सय ४१ जना नेपाली स्वदेश फर्किएका मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । मलेसियामा झण्डै ५ लाख नेपाली कार्यरत छन् । तीमध्ये कति नेपाली अवैधानिक रुपमा काम गरिरहेका छन् भन्ने पनि तथ्याङ्क छैन । 

रोजगारदातालाई चिन्ता

मलेसिया सरकारले लिएको विदेशी कामदारको नीतिले रोजगारदातामा चिन्ता परेको छ । जनवरीदेखि अगष्टसम्ममा अवैधानिक विदेशी कामदारलाई रोजगारी दिने ७ सय ९९ जना रोजगारदाता पक्राउ परेका छन् । 

एकातिर अवैधानिक विदेशी कामदारलाई काममा लगाउँदा प्रशासनको निशानामा परिने डर रोजगारदातालाई छ भने अर्कातिर कामदार नहुँदा काममा असर पर्ने हो कि भन्ने चिन्ता छ । 

अवैधानिक विदेशी कामदारलाई काममा लगाउने रोजगारदातालाई जरिवाना र जेल सजायसम्मका कडा कारबाही हुन सक्ने मलेसिया सरकारले जनाएको छ । 

रोजगारदाता र सरोकारवालाले धरपकडप्रति चिन्ता व्यक्त गर्दै उपयुक्त विकल्प ल्याउन आग्रह गर्दै आएका भए पनि मलेसियाको सरकारले भने थप कडाइ गर्ने बताउँदै आएको छ ।

 अवैधानिक रुपमा रहेका विदेशी कामदारले अब थप समय नपाउने पनि निर्देशक अलीले बताएका छन । 
 

अन्तिम अपडेट: चैत २६, २०८०

1 Comments

  • Raju lingthep

    Sept. 2, 2018, 2:04 p.m.

    याे मलेसिया सरकार ले थालेकाे धडपकड लाई मध्य नजर राखी नेपाल सरकारले अाफ्नाे जनता लाई सुरक्छित साथ नेपाल लाने कार्यक्रम सुरु गर्नु पर्छ।किन भने मलेसिया अाएर खतारा संगै अबधानिक हुने रहर हुँदैन तर बाध्ताले अबधानिक हुनु पर्दा म पनी दु:खी छु।तेसैले छिटाे भन्दा छिटाे नेपाल सरकार र मलेसिया सरकार काे समन्याेय का साथ अगी बढेर नेपाली जनता काे सुरक्छा हाेस।

  •  0 Reply

तपाईको प्रतिक्रिया