हरिप्रसाद रिमाल : रंगमञ्चका धरोहर

 भदौ १६, २०७५ शनिबार १४:२९:३६ | विष्णु विश्वकर्मा
unn.prixa.net

२००७ साल चैत्र २० गते रेडियो नेपालको प्रत्यक्ष प्रशारण चलिरहेको थियो । अहिले जस्तो त्यतिबेला गीत–संगीत संग्रहित थिएनन् । गीत रेकर्ड गर्ने ठाउँ भए पो गीत हुनु । जे थियो, त्यही एउटा रेडियो नेपाल थियो । नेपालकै पहिलो सञ्चारमाध्यम रेडियो नेपालको प्रत्यक्ष प्रशारण सुरु भयो ।

प्रत्यक्ष प्रशारण सुुरु भइरहँदा नाटककार बालकृष्ण सम स्टेसनमै हुनुहुन्थ्यो । समसँगै थिए, एक लक्का जवान हरिप्रसाद रिमाल ।

प्रत्यक्ष प्रशारणका क्रममा समले नै रिमाललाई ‘अन एयर’ डोहोर्‍याउनुभयो । जसको स्वरमा जादु थियो । शरीरका अंग अंगमा समले अभिनयको कौशल त भरि दिएका थिए नै ।

प्रत्यक्ष प्रशारणमा बोलिरहेकालाई समले भनिदिए, ‘यो केटोले राम्रो गीत गाउँछ ।’ यति भनेपछि हड्बडाएका रिमाललाई प्रत्यक्ष प्रशारणमा गीत गाउनुपर्ने बाध्यता आइलाग्यो । त्यो बाध्यता मात्रै थिएन गुरुले देखाएको पहिलो ऐतिहासिक अवसर पनि थियो ।

गुरुले नै भनेपछि हडबडाएर आत्तिने र स्टुडियोबाट भाग्ने छुट रिमाललाई पनि भएन । अनि रेडियो नेपालको माइक अगाडि गुनगुनाउन सुरु गर्नुभयो, ‘मेरो दिल टुक्रा बनेर एक दिन आँखाको बाटो बहनेछ..........’

शंकर लामिछानेले रचना गरेको यो गीतमा रिमालको स्वर मात्रै गुन्जिएन । त्यही स्वर रेडियो नेपालमा ‘लाइभ’ बज्ने पहिलो ऐतिहासिक गीत बन्यो । अनि रिमाल रेडियो नेपालका प्रथम गायक बन्नुभयो ।

रिमालको शुक्रबार बिहानै ९२ वर्षको उमेरमा निधन भयो । फोक्सोको समस्याले ग्रसित उहाँको निधनले नेपाली गीत संगीत र रगंमञ्च स्तब्ध बनेको छ ।

बालापनमै रंगमञ्च ‘इन्ट्री’

वि.सं. १९८२ असोज ५ गते बुवा घनश्याम र आमा मोहनकुमारीको कोखबाट काठमाडौंको लगनटोलमा जन्मिएका रिमालले झण्डै ८० वर्ष नेपाली गीत–संगीत र रंगमञ्चमा बिताउनुभयो ।

१४ वर्षकै उमेरमा रिमाललाई स्व. बालकृष्ण समले आफ्नो नाटक ‘मुकुन्द इन्दिरा’मा ‘इन्ट्री’ दिनु भएको थियो । रिमाललाई त्यसअघि नै नाटकमा खेलाउन थाले पनि उमेर नपुगेका कारण १४ वर्ष भएपछि मात्रै समले नाटक खेलाउन थाल्नु भएको हो ।

मुकुन्दा इन्दिरासँगै, भिमसेनको अन्त्य, परिवर्तन, मसानलगायत नाटकमा रिमालको अभिनय छ । नाटक सँगसँगै नेपालकै पहिलो चलचित्र आमापछि मनको बाँध, परिवर्तन, के घर के डेरा, सन्तानलगायतका चलचित्रमा पनि रिमालले अभिनय गर्नुभयो ।

‘दाजु गोपालप्रसाद रिमालका नाटकलाई रंगमञ्चमा उतार्ने काम उहाँले गर्नु भएको हो । गुरु बालकृष्ण समले अभिनय गर्न सिकाएपछि त्यसको प्रयोग उहाँले रेडियो नेपाल र अरु नाटकमा देखाउनुभयो’, रिमालको नजिक बसेर नाटक सिकेका सम्राट सापकोटा सम्झिनुहुन्छ ।

‘फगत एक नजर’ जस्तै गीत संगीत  

मेरो दिल टुक्रा बनेर बोलको गीत गाएर रेडियो नेपालको पहिलो गायक बने पनि रिमाललाई ‘फगत एक नजरमा कसैले लियो मन’ बोलको गीतले चर्चाको शिखरमा पुर्‍याएको हो ।

२०७२ मा भीमफेदी गाइजले यो गीतको भिडियो बनाएर युट्यूबमा राखेपछि रिमाललाई अहिलेको नयाँ पुस्ताले पनि चिन्ने मौका पाएको हो ।

‘फगत एक नजर’बाट रिमालको माग विभिन्न कार्यक्रममा बढेको थियो । एक कार्यक्रममा गीत गाएपछि पुर्व प्रधानमन्त्री जुद्ध शमशेरले रिमाललाई पाँच सय रुपैयाँ पुरस्कार दिनु भएको थियो ।

जुद्ध शमशेरबाट पुरस्कार पाएपछि रिमाल आफ्ना सहकर्मीहरुलाई भन्नुहुन्थ्यो, ‘पुरस्कार पाउन सजिलो बोकेर घरसम्म लैजान गाह्रो ।’ त्यतिबेला पाँच सय रुपैयाँको पैसा निकै महंगो र धेरै हुन्थ्यो ।

तर पछि नाटकमा लागेपछि उहाँले गीत–संगीतलाई निरन्तरता दिन समय नै पाउनु भएन । गीत संगीतबाट सुरु भएको रिमालको कलाकारिताले भने रंगमञ्चमा सफलता चुमेको थियो ।

समको साथले रंगमञ्चको शिखर

गीत–संगीतमा सक्रिय रहकै बेला नाटककार बालकृष्ण समसँग भेट भएपछि रिमाल अभिनयमा यात्रातिर लाग्नु भएको हो । गीत संगीतकै क्रममा समसँग रिमालको भेट भएको थियो । उसो त यसका पछाडि रिमालका दाजु गोपालप्रसादको पनि साथ छ ।

गोपालप्रसाद रिमाल तिनै व्यक्ति हुन् जसले नेपालमा गद्य शैलीका कविता लेखेर चर्चा कमाउनुभयो । पद्य शैलीको राज तोड्दै रिमालले गद्य शैलीको कवितालाई पनि लोकप्रिय बनाउनु भएको थियो । चलचित्र निर्देशक सम्राट सापकोटाका अनुसार दाजु गोपालप्रसाद रिमालले लेखेका नाटकलाई हरिप्रसाद रिमालले निर्देशन गरेर मञ्चन गर्नुहुन्थ्यो ।  

समको नजिक रहेर नेपाली नाट्य क्षेत्र र अभिनयमा फरक परिचय बनाउनु भएका रिमालले २०१३ सालमा रेडियो नेपालको नाटक विभागको नेतृत्व समेत गर्नुभयो । जनचेतनामूलक रेडियो नेपालको नाटक रुपकलाई सबैले सुन्ने र मन पराउने बनाएपछि उहाँले नाट्य क्षेत्रमा सफलताको शिखर चुम्नु भएको थियो ।

एकपटक रिमालको नाटक हेरेर राजा महेन्द्रले पनि पाँच सय रुपैयाँ पुरस्कार दिनु भएको थियो । यसबाहेक अरु सम्मान र पुरस्कार पनि उहाँले धेरै पाउनुभयो ।
पुराना श्रष्टालाई नाटक लेखनमा प्रोत्साहन गर्नु भएका रिमालले ६ देखि ७ सय नाटकहरु निर्देशन गर्नु भएको छ । तर ती सबै नाटकको संग्रह नगरिदिएकोमा रिमाल रेडियो नेपालसँग असन्तुष्ट हुनुहुन्थ्यो ।

नाटकप्रतिको समर्पणले बनायो रंगमञ्चको धरोहर

नेपाली नाटकलाई आधुनिक र अभिनयको उच्च बिन्दुमा पु¥याएका रिमाल कडा मेहनत र संघर्षका पर्याय हुनुहुन्थ्यो । लामो संघर्ष र नाट्य क्षेत्रमा समर्पित धरोहरको ९२ वर्षमा भएको निधनले नेपाली रंगमञ्चले कुशल अभिभावक पनि गुमाएको छ ।

नेपाली नाटक क्षेत्रलाई रेडियोदेखि सडक र रंगमञ्चमा परिचित गराउनु भएका रिमालबाट नयाँ पुस्ताले संघर्ष र कलाप्रतिको समर्पण सिक्नुपर्ने चलचित्र निर्देशक सापकोटाको भनाई छ ।

‘रहरले मात्र नभई मनभित्रैबाट समर्पण भएर गीत संगीत र रंगमञ्चमा लाग्नुपर्छ भन्ने सन्देश गुरु रिमालले दिनुहुन्थ्यो’, सापकोटा भन्नुुन्छ, ‘क्षणिक रहर र मनोरञ्जनका लागि गीत संगीत र रंगमञ्चको शिखरमा पुग्न सकिदैन भन्ने रिमालको समर्पणले पुष्टि गरेको छ ।’

झण्डै ८० वर्ष निरन्तर नेपाली गीत संगीत र नाटकको क्षेत्रलाई उचाइमा पुर्‍याउनु भएका रिमालले थुप्रै नाट्यकर्मी पनि जन्माउनु भएको छ । त्यसमध्ये भुवन चन्द, बसुन्धरा भुषाल, कृष्ण मल्ल, हरिवंश आचार्य रिमालको सामिप्यतामा रहेर अभिनयमा आएका हुन ।

सापकोटाकै शब्दमा अहिलेका नयाँ पुस्ताप्रति आशावादी रहनु भएका रिमाल सित्तिमित्ती भरोसा भने गर्नु हुन्न्थ्यो । बिरामी भएकै बेला अहिलेका नयाँ पुस्ताका नाटक केही हेर्नु भएका उहाँ भन्नुुहुन्थ्यो, ‘समग्रमा राम्रो छ । तर यसैमा चित्त बुझाउन सकिन्न । अझै धेरै गर्दै जाउ । जुन नाटकलाई मञ्चमा बसेका दर्शकले मन पराएर ताली बजाउँछन । त्यसैबाट आफ्नो चित्त बुझाऊ ।’
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया