सम्भावित हिंसा रोक्न आफूले देश छाडेको अफगानिस्तानका पूर्व-राष्ट्रपति घानीको भनाइ

 भदौ २४, २०७८ बिहिबार १०:१२:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानका पूर्व-राष्ट्रपति अशरफ घानीले ६० लाख मानिस बस्ने काबुलमा हिंसा नहोस् भनेर आफूले देश छाडेको बताउनुभएको छ ।

दुई हप्ता अघि तालिबान् लडाकु राजधानी काबुल प्रवेश गरेलगत्तै देश छाडेका पूर्व-राष्ट्रपति घानीले एउटा विज्ञप्ति निकालेर संकटमा अफगानिस्तानका नागरिकलाई छाडेर भाग्नु आफ्नो नियत नभएको तर हिंसा फैलनबाट रोक्न आफुले देश छाडेको बताउनुभएको छ । यदि सरकारले पनि लडाइँ नै चाहेको भएमा काबुलको अवस्था अझै बिग्रने भन्दै तत्कालको अवस्थालाई सुरक्षित अवतरण गराउनु आफूलाई उचित लागेको उहाँले बताउनुभएको छ ।

दुई पटक राष्ट्रपति बन्नुभएका घानीले निकाल्नुभएको विज्ञप्तिमा देश छाडेकोमा अफगानी नागरिकसँग माफी माग्दै  अफगान राज्यकोषबाट  लाखौँ अमेरिकी डलर लिएर आफूले देश छाडेको आरोपको खण्डन गर्नुभएको छ । तालिबानले नयाँ सरकार घोषणा गरेपछि आएको उहाँको विज्ञप्तिमा नयाँ सरकारबारे केही उल्लेख छैन ।

अफगानिस्तानका चर्चित शिक्षाविद् रहेका घानी सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बन्नुभएको हो । धेरैजसो समय विदेशमा बिताउनुभएका घानी अफगानिस्तानमा तालिबान सत्ता हटेर केही वर्षको युद्धपछि स्वदेश फर्कनुभएको थियो ।  
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया