पाकिस्तानसँगको सीमा नजिकै भारतले बनायो राजमार्गमै लडाकु विमान अवतरण गर्ने रनवे

 भदौ २४, २०७८ बिहिबार १५:२४:४७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतले पाकिस्तानसँगको सीमा क्षेत्रको राष्ट्रिय राजमार्गमा लडाकु विमान अवतरण गर्न मिल्ने गरी हाईवे–रनवे निर्माण गरेको छ । राजस्थानमा पाकिस्तानसँगको सीमाबाट झन्डै ५० मिटर परको दुरीमा बनेको राष्ट्रिय राजमार्ग–९२५ मा आपत्कालीन रूपमा लडाकु विमान अवतरण गर्न सकिनेछ ।

केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह, सडक तथा परिवहन मन्त्री नितिन गडकरी तथा सेनापति बिपिन रावत सवार लडाकु विमान आज बिहीवार राजमार्गमा आपत्कालीन अवतरण भएको बीबीसीले जनाएको छ ।

लडाकु विमान अवतरण हुन सक्ने राजमार्ग भारतमै पहिलो पटक बनेको खबरमा उल्लेख छ । राष्ट्रिय राजमार्ग–९२५ अन्तर्गत सत्ता गान्धव क्षेत्रकाे तीन किलोमिटर लामो हिस्सा वायु सेनाकाे प्रयोजनका लागि निर्माण गरिएको छ ।

राजमार्गमै बनेको रनवेको उद्घाटन गर्दै रक्षा मन्त्री राजनाथ सिंहले सेनाको परिचालन क्षमतामा सुधारका लागि भारतीय राजमार्ग प्राधिकरणले देशका कैयौँ ठाउँमा आपत्कालीन ल्यान्डिङ फिल्ड बनाइरहेको बताउनुभयो । राजमार्गमै बन्ने यस्ता आपत्कालीन ल्यान्डिङ क्षेत्रहरु प्रकृति विपत्तिको समयमा पनि निकै प्रभावकारी हुने सिंहको भनाइ छ ।

यस्तै परिवहन मन्त्री नितिन कडकरीले राजमार्गमा बनेको आपत्कालीन रनवेले देशको सुरक्षालाई अझै मजबुत बनाउने बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया