मुस्ताङ : असाेज लागेपछि स्याउ टिप्ने तयारी

 भदौ २८, २०७८ सोमबार १७:८:५३ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन भएको स्याउ बजार पठाउने तयारी थालिएको छ । पाँच वटा गाउँपालिका रहेको मुस्ताङको विभिन्न ठाउँमा लगाइएको स्याउ पाकेपछि किसानहरूले स्याउ टिप्ने र बजार पठाउने तयारी गरेका हुन् ।

अहिले स्याउ खरिद गर्नका लागि स्थानीय व्यापारीसहित बाहिरी जिल्लाका व्यापारीहरू स्याउ बगैँचामा पुगेका किसानहरूले बताएका छन् । मुस्ताङका किसानले फलाएका स्याउ खरिद गर्न व्यापारीहरूले स्याउको बगैँचा नै ठेक्कामा लिन्छन् । धादिङ, काठमाण्डौलगायतका ठाउँबाट व्यापारीहरू स्याउ खरिद गर्न मुस्ताङ पुगेका हुन् । 

मुस्ताङको स्याउ खरिद गर्न छिमेकी जिल्ला म्याग्दीसहित पोखरा, चिवतनलगायत ठाउँबाट पनि व्यापारीहरू पुग्छन् । यस वर्ष आउँदो असोज १ गतेदेखि किसानहरूले स्याउ टिप्ने तयारी गरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुस्ताङका कृषि अधिकृत शिवा अर्यालले बताउनुभयो । उहाँका अनुसार अहिले स्याउ खरिद गर्न पुगेका व्यापारी र कामदारले स्याउको बगैँचा कुरेर बसिरहेका छन् । 

गएका वर्षमा यसअघि नै स्याउ टिप्ने र बजार पठाउने गरेको हुँदा स्याउ गुणस्तरीय नभएको गुनासो आएकाले असोज लागेपछि मात्रै स्याउ टिप्न सूचना जारी गरिएको कृषि अधिकृत अर्यालले जानकारी दिनुभयो । यसअघि तीजभन्दा अघि नै मुस्ताङी स्याउ बजार पुग्ने गरेको हुँदा स्याउ रातो भए पनि गुलियो नपसेका कारण खाँदा गुणस्तरीय र स्वादिलो नभएकाले उपभोक्ताले गुनासो गर्दै आइरहेका थिए । असोज लागेपछि बजार पठाइने स्याउ गुणस्तरीय र स्वादिलो हुने कृषि प्राविधिकहरू बताउँछन् । 

यस वर्ष गएको वर्षको तुलनामा स्याउ उत्पादन घट्ने अनुमान गरिएको छ । जलवायु परिवर्तनका कारण वातावरणमा परेको असरले स्याउमा ‘स्केल’ जातको रोग, किराको प्रकोप देखिएको हुँदा उत्पादनमा कमी आउने कृषि अधिकृत अर्यालले बताउनुभयो । बोटमा फल लाग्ने समयमा घाम लाग्नुको सट्टा यस पटक पानी धेरै पर्नु, एक पटकको सिजनमा धेरै फल्ने र अर्को वर्षको सिजनमा थोरै फल दिने, लामो समयसम्म पानी परेका कारण बोटमा स्ट्रे गर्न नपाउनुजस्ता कारणले यस वर्ष स्याउ उत्पादन घट्न सक्ने परियोजना कार्यान्वयन इकाइले जनाएको छ ।

व्यावसायिक स्याउ खेतीमा आबद्ध कृषि फार्म, किसान समूह र कृषि सहकारीसहित ८७ वटा फार्म कार्यालयमा सूचीकृत भएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुस्ताङ–म्याग्दीका प्रमुख डाक्टर सुधीर थापाले जानकारी दिनुभयो । यस वर्ष स्याउ टिप्न, खरिद गर्न र मुस्ताङ भ्रमणका लागि कोरोना परीक्षणको पीसीआर गरेको ७२ घण्टाको रिपोर्ट वा एन्टिजेन परीक्षणको रिपोर्टसहित कोरोनाविरुद्ध लगाएको खोप–कार्ड लिएर आउनेलाई प्रवेश अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो । 

स्याउ छिटै बजारमा लैजाँदा गुणस्तरीय नभएकाले असोजदेखि बजारमा पठाउने तयारी थालेको घरपझोङ गाउँपालिका २ मार्फाका अगुवा किसान दीपक लालचनले बताउनुभयो । उहाँले आफ्नो २५ सय रोपनीको जग्गामा व्यावसायिक स्याउ खेती गरेको बताउँदै ६ सय बोटले उत्पादन दिन थालेको जानकारी दिनुभयो । यस वर्ष इटालियन जातको उच्च घनत्व (हाई डेन्सिटी) को एक हजार बोट स्याउका बिरुवासमेत लगाएको किसान लालचनले बताउनुभयो । 

बोटमै प्रति केजी एक सय रुपैयाँ पर्ने मुस्ताङी स्याउ ‘ए’ र ‘बी’ ग्रेड छुट्याएर बजार पठाउने गरिन्छ । मुस्ताङमा १२ सयभन्दा बढी हेक्टरमा व्यावसायिक रूपमा स्याउ खेती गरिएको छ भने वार्षिक झन्डै ६ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ । मुस्ताङमा मार्फा र टुकुचेलाई राम्रो फल्ने स्याउ मानिन्छ ।

मुस्ताङको घरपझोङ गाउँपालिकाको पाँच वटै वडा, थासाङको टुकुचे, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र चैले स्याउ उत्पादनको पकेट क्षेत्र मानिन्छन् । उपल्लो मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको केही वडा र लोमान्थाङ गाउँपालिकामा समेत स्याउ खेती हुन थालेको छ । 

मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ । केही समयदेखि उच्च घनत्वको इटालियन जातको स्याउसमेत लगाइएको छ । मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाण्डौ, नारायणगढ, बुटवल र भैरहवासहित नेपाली र विदेशी बजारमा पुग्ने गरेको छ । 

समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिको उचाइसम्म स्याउ खेती हुने गरेको छ भने राम्रो व्यवस्थापन गर्न सकेमा एउटै बोटबाट तीन क्विन्टलसम्म स्याउ उत्पादन गर्न सकिन्छ । किसानहरूले स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, स्लाइडर जस्ता चिज बनाएर बिक्री गर्ने गरेका छन् । 

अहिले मुस्ताङका स्याउको बोटमा लटरम्मै स्याउ फलेको छ । मुस्ताङको मार्फालाई स्याउको राजधानीसमेत भनिन्छ । केही समय पहिले ‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा...’ भन्ने बोलको गीतसमेत निकै चर्चामा आएको थियो । 

तस्बिर : प्रताप बानियाँ, म्याग्दी

अन्तिम अपडेट: बैशाख ४, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया