राष्ट्रिय सहमति गरी एमसीसी अनुमाेदन गर्दा नै देशकाे हित हुन्छ : डा. भट्टराई

 भदौ २८, २०७८ सोमबार २०:३५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

गाेरखा – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) अनुमोदन गर्दा नै देशकाे हित हुने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज साेमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा. भट्टराईले एमसीसीजस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको बताउनुभयो । 

‘एमसीसीको विषय अहिले पेचिलो रूपमा उठेको छ, उहाँले भन्नुभयो, ‘यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्नुपर्छ ।’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले दलगत राजनीति र दलभित्रका पनि गुटगत राजनीतिका निम्ति राष्ट्रियताका प्रश्नलाई गिजोल्याउने काम गर्न नहुने आफ्नो मान्यता रहेको बताउनुभयो ।   

‘एससीसी पनि विशुद्ध रूपमा एउटा परियोजना अनुदान सम्झौता हो । यस्ता सम्झौता थुप्रै देशसँग हुने गरेका छन्’, उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री डा. भट्टराईले विगतमा यस्ता सम्झौता गर्दा विवाद बढी देखिएकाले पनि राष्ट्रिय सहमति जुटाउन सहज हुन्छ भन्ने ढङ्गले नेपालकै तर्फबाट माग गरेर संसद्बाट अनुमोदनको बुँदा एमसीसी सम्झौतामा राखिएको पाइएको बताउनुभयो ।

उहाँले एमसीसीको विषयमा सरकारमा रहँदा एउटा र सरकार बाहिर हुँदा अर्को कुरा गर्ने नेपालका राजनीतिक दलको प्रवृतिका कारण यस्ता खालका सहमति र सम्झौतामा समस्या हुने गरेको बताउनुभयो । 

‘केही दल खास गरी हाम्रा पुराना कम्युनिस्ट साथीको जुन एउटा धङ्धङ्गी छ, त्यो धङधङ्गी छोड्न नसकेका कारण पार्टीको आन्तरिक सङ्घर्ष पनि प्रतिबन्धित हुन पुग्यो’, डा. भट्टराईले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले राजनीतिक दलले छिटो भन्दा छिटो सहमति गरेर सम्झौतालाई अनुमोदन गर्ने कुरा नै राष्ट्रिय हितमा हुने दाबी गर्नुभयो । उहाँले जसपा एक्लैले निर्णय गर्न सक्ने अवस्था नरहेको भन्दै एमसीसी राष्ट्रिय सहमतिबाट नै टुङ्गो लागोस् भन्ने पार्टीको धारणा रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

2 Comments

  • Bishnu

    Sept. 13, 2021, 11:58 p.m.

    यो बाबुराम, प्रचण्डको स्वरमा लाग्ने हो भने ......हेर न बोलेको ...

  •  0 Reply
  • मनोज

    Sept. 13, 2021, 10:07 p.m.

    देशनै जिम्मा लाए झनै हितकर हुन्थ्यो कि डा साप ? काइतेहरु ।

  •  0 Reply

तपाईको प्रतिक्रिया