माधव नेपालकाे भविष्य छैन, भविष्य भएकाहरू एमालेमै फर्किनुस् : केपी ओली

 भदौ ३१, २०७८ बिहिबार १८:५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीमा नगइ एमालेमै फर्किन नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ । आज बिहीवार काठमाण्डाै जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेता माधव नेपालको पछि नलागी नेकपा एमालेमै रहन आह्वान गर्नुभएको हो । 

नेपालले व्यक्तिगत स्वार्थ र अहङ्कारका कारण पार्टी फुटाएको भन्दै उहाँले कार्यकर्ताको भविष्यसँग खेलबाड गरेको पनि बताउनुभयो । आफ्नो व्यक्तिगत स्वार्थका कारण अरूको जिन्दगीसँग खेल्नु डरलाग्दो भएको उल्लेख गर्दै उहाँले नेपालले घरमा आगो लगाएर खरानी घसेर हिँडेको टिप्पणी गर्नुभयो । 

नेता नेपालको भविष्य नभएको भन्दै उहाँले भविष्य भएका नेता कार्यकर्ता मूल पार्टीमै फर्किन उहाँले नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘म माधव नेपाललाई भन्दिनँ । माधव नेपाले अलमलाएका, भ्रममा पारेका, झुक्याएका मान्छेहरू फर्किनुस् पार्टीमा । कार्यकर्ता फर्किनुस् । झुक्किएका साथीहरू फर्किनुस् । माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थ यात्रामा हिँडेका मान्छेलाई म केही भन्दिनँ । घरमा आगो लगाएर खरानी धसेर हिँड्या मान्छे । तर माधव नेपालले उहाँको व्यक्तिगत महत्वाकाङ्क्षा, व्यक्तिगत स्वार्थ, व्यक्तिगत इगो, व्यक्तिगत अहङ्कार, ईर्ष्या भाव, कुण्ठाबाट ग्रसित भएर अनेका जिन्दगीसँग माधव नेपालले जुन खेलबाड गर्नुभयो, बहुतै डरलाग्दो कुरा हो । आफ्नो स्वार्थका लागि दुनियाँका जिन्दगीसँग खेलबाड गर्ने ? कार्यकर्ताको राजनीतिक भविष्यसँग खेलबाड गर्ने ? उहाँ त पार्टी प्रमुख भएर धेरै वर्ष चलाउनुभयो । प्रधानमन्त्री भइसक्नुभयो । अब त जाने ठाउँ के छ ? मास्तिर कता जाने ? उहाँलाई केही मतलब छैन । इगोका लागि उहाँले जे पनि गर्नुहुन्छ तर अरूको त भविष्य छ नि । अरूको भविष्यसँग खेलबाड गर्ने ? देशको भविष्यसँग खेलबाड गर्ने ? तर म कार्यकर्ता साथीहरूलाई आग्रह गर्न चाहन्छु, भ्रममा नपर्नुस्, अहिले पनि भ्रममा नपर्नुस् ।’

केही नेताहरूले माधव नेपाललाई एमालेमा फर्किन आग्रह गरेको प्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले माधव नेपालको एमालेमा आवश्यकता नभएको बताउनुभयो । उहाँले पार्टीमा भएका विगतमा नेपाल पक्षका नेताहरूतर्फ लक्षित गर्दै माधव नेपालको लोभ नगर्न पनि आग्रह गर्नुभयो । 

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उडेको प्लेन दृश्यबाट बिलाउँदै गए जस्तैगरी बिलाएर जाने टिप्पणी गर्नुभयो । उहाँले माओवादी केन्द्र र एमाले एकीकरण पछिको मूल पार्टी आफूहरूकै भएको भन्दै प्रचण्डले आफ्नो गुटमात्र लगेको बताउनुभयो । विगतमा नेकपामा रहेका नेता कार्यकर्तालाई एमालेमै फर्किन पनि आग्रह गर्नुभयो । 

अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतन्त्रका सामान्य मूल्य मान्यताको पनि पालना नगरेको बताउनुभयो । वर्तमान सरकारले बजेट ल्याउन नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो । आफूहरूले बजेट ल्याउन नरोकेको भन्दै उहाँले संसदमा कुदेर अर्थोक गर्न मिल्ने तर बजेट ल्याउन किन नमिल्ने भन्ने प्रश्नसमेत गर्नुभयो । 

उहाँले एमालेले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरिरहेको भन्दै शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न चेतावनीसमेत दिनुभयो । आउँदा दिनमा एमाले बाजागाजासहित सिंहदरबारको मूल ढोकाबाट सरकारको नेतृत्व गर्न पुग्ने उहाँले दाबी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया