माधवजी एमालेमै फर्किनुस्– शाक्य : उहाँलाई फेरि पार्टी फुटाउन डाक्ने ?– ओली

 भदौ ३१, २०७८ बिहिबार १९:१९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेमै फर्किन आग्रह गर्नुभएकाे छ । आज बिहीवार काठमाण्डाै जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  

आफूले बनाएको पार्टी त्यागेर फेरि नयाँ पार्टी गठन गरी जनमत र आन्दोलनको सिर्जना गर्छु भन्नु गलत भएको भन्दै स्थायी कमिटी सदस्य शाक्यले नेता नेपाललाई एमालेमा फर्किन आग्रह गर्नुभएको हो । सुदृढ एमाले बनाउन नेता नेपालको आवश्यकता रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा बाेल्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सुदृढ एमाले बनाउनका लागि जालझेल र षड्यन्त्र नगरिकन पार्टीको आन्तरिक निर्देशनको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । 

 उहाँले २०७५ जेठ २ गते जसको जे जिम्मेवारी थियो त्याे जिम्मेवारी दिनुपर्नेमा शीर्ष नेतालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेतृत्व तहको कमरेडलाई मेरो अनुरोध छ, अपिल छ । जारी भएको अन्तरपार्टी निर्देशनको अक्षरशः पालना गरौँ । त्यसमा कुनै जालझेल र षड्यन्त्र आवश्यक छैन । २०७५ जेठ २ मा जे भनेको छ, जो आउँछ उसैलाई नेतृत्व मानेर अगाडि बढौँ । के फाइदा छ हामीलाई ? विभाजन गरेर फाइदा भयो र ? हामी अलग–अलग भएर फाइदा भयो र ? कमजोर बनाउने शक्तिहरूले त हामीलाई कमजोर बनाइसक्यो । अब हामीले अन्तरपार्टी निर्देशनलाई अक्षरशः पालना गरेर देशव्यापी रूपमा स्थापित गर्नुपर्छ, अगाडि बढाउनुपर्छ । कुनै पूर्वाग्रहविना, कुनै मनमुटावविना, हिजोको कुरा बिर्सेर सुदृढ एमाले बनाउनका लागि मन फराकिलो बनाउनै पर्छ ।’

केही नेताहरूले माधव नेपाललाई एमालेमा फर्किन आग्रह गरेकोप्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले माधव नेपालको एमालेमा आवश्यकता नभएको बताउनुभयो । उहाँले पार्टीमा भएका विगतमा नेपाल पक्षका नेताहरूतर्फ लक्षित गर्दै माधव नेपालको लोभ नगर्न पनि आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हुन त केही साथीहरू अहिले पनि भन्नुहुन्छ, माधव कामरेड आउनुस् । तपाईँको आवश्यकता छ भनेर । फुटाउनलाई आवश्यकता छ अब उहाँको यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कामरेडको त्यो म बुझ्दिन । केलाई आवश्यकता ? उहाँ छउन्जेल पार्टी गुटबन्दीबाहेक केही भएन, माधव नेपालले यो साढे तीन वर्षमा पार्टीको पक्षमा, सरकारको पक्षमा एक शब्द बोलेको कमरेडहरूले सुन्नुभयो कहिल्यै ? सरकारको आलोचना, सरकारको विरोध, प्रतिक्रियावादी भन्दा चर्को, विपक्षीहरूले के भन्थे यतै सत्ता पक्षकै नेताहरूले यति बोलिसकेपछि हामीले केही बोल्नु परेन । हाम्रो कुरा उहाँले भन्दिसक्नुभयो । लामो समयसँगै काम गरेपछि अलिक माया, ममता हुन्छ क्या । त्यस कारण अलिअलि लोभ लाग्छ साथीभाइको । त्यो लोभ छोड्दिनुपर्छ अब । काम छैन त्यस लोभको ।’

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया